राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था र बढ्दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन आग्रह गरेका छन् ।
साेमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायका मित्र राष्ट्रलाई नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गरेका हुन् ।
‘यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले नेपालले विगतमा भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गरे । प्रत्येकपटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गरेको उनले बताए ।
उनले विपत्तिको यस कठिन घडीमा सम्पूर्ण राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजीक्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकलाई एकताबद्ध भएर उभिन आह्वान गरे ।
‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ राष्ट्रपति पौडेलले भने ।


