काठमाडौं। अफ्रिकी देश केप भर्डको फोगो द्वीपमा शनिबार राति भएको भीषण बस दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा केही अन्य व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय अधिकारीका अनुसार यात्रु बोकेको बस सडकबाट अनियन्त्रित भई करिब ३० मिटर गहिरो भिरमा खसेको थियो ।
दुर्घटना फोगो द्वीपको उत्तरी उच्च भूभागमा पर्ने साओ फिलिपे नगरपालिकाअन्तर्गत चा दास काल्देइरास र क्याम्पानास दे सिमाबीचको सडकमा भएको हो ।
केप भर्डका राष्ट्रपति जोसे मारिया नेभेसले सुरुमा दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको जानकारी दिए ।
पछि सामाजिक सञ्जालमार्फत मृतकको संख्या बढेर २१ पुगेको जानकारी दिँदै उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।
स्थानीय समाचार संस्था इन्फोप्रेसका अनुसार बस सडकबाट चिप्लिएर करिब ३० मिटर तलको भिरमा खसेपछि दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार अधिकांश यात्रु युवा उमेरका रहेको बताइएको छ । उनीहरूमध्ये मुख्य रूपमा कर्राल ग्रान्डे र पोन्ता भेर्देका माध्यमिक तहका विद्यार्थी रहेको जनाइएको छ ।
दुर्घटनामा बस चालकको समेत मृत्यु भएको इन्फोप्रेसले जनाएको छ ।


