काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारका साथै सबै सरोकारवाला निकायहरूबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानव सभ्यताकै कलङ्क र एक संगठित अन्तर्राष्ट्रिय अपराधको रूपमा चित्रण गरे।
यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। सूचना प्रविधिको विकाससँगै बेचबिखनको शैली, स्वरूप र गन्तव्यसमेत परिवर्तन भइरहेकातर्फ ध्यानाकर्षण गराउँदै उनले प्रविधिको सही र सजग प्रयोग गर्न आग्रह गरे।
नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत एवं संस्थागत सुधार गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्रीले बेचबिखन नियन्त्रणका लागि तिनै तहका सरकार र साझेदार संस्थाहरू सक्रिय रहेको बताए।
उनका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल बनाउन संसद्मा संशोधन विधेयक दर्ता भइसकेको छ। यसबाट पीडितहरूको अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार संरक्षण र राज्यहरूबीचको समन्वय अझ मजबुत हुने विश्वास लिइएको छ।
संघीय संरचनाअनुसार विद्यमान कानुनी संयन्त्रलाई चुस्त बनाउन मानव बेचबिखनविरुद्धको नयाँ नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि उनले बताए।
प्रधानमन्त्री शाहले सरकारी तथा गैरसरकारी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र नागरिक समाजको साझा एवं एकीकृत प्रयासबाट मात्र मानव बेचबिखनमुक्त समाजको सपना साकार हुने स्पष्ट पारे। अभियानमा निरन्तर साथ दिने सबैप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि ऐक्यबद्धता र सहकार्यका लागि आह्वान गरेका छन्।


