२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अब काठमाडौँमा ग्यासको मूल्य प्रतिसिलिन्डर २,१६५ रुपैयाँ ३८ पैसा पर्ने


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 3.0K
    SHARES

  • images
    अब काठमाडौँमा ग्यासको मूल्य प्रतिसिलिन्डर २,१६५ रुपैयाँ ३८ पैसा पर्ने

    काठमाडौँ / त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक कटान भएर यातायात अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। 

    सडक अवरुद्ध हुँदा ग्यास बिक्री–वितरणमा समस्या देखिएपछि नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था मिलाउन आग्रह गरेको छ।

    संघका अनुसार बाढीका कारण काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास सिलिन्डर बिक्री–वितरण चुनौतीपूर्ण बनेको छ। 

    समस्या समाधानका लागि नेपाल आयल निगम र संघबीच भएको बैठकले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यकामा ल्याउने निर्णय गरेको छ।

    निर्णयअनुसार काठमाडौँ उपत्यकामा रहेका ग्यास उद्योगहरूले समेत सोही क्षेत्रमा रहेका उद्योगबाट रिफिल गरी सिलिन्डर ल्याउनुपर्नेछ। 

    यसका लागि हेटौँडाबाट काठमाडौँसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा दूरी १३१ किलोमिटर हुने र थप ढुवानी खर्च लाग्ने संघले जनाएको छ।

    नेपाल आयल निगमको यसअघि भएको निर्णयअनुसार हेटौँडाको सहारा ग्यास उद्योगबाट काठमाडौँसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप हुने ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा तथा नियमानुसार लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको संघले जनाएको छ।

    संघले भदौ १८ गते सम्पन्न आफ्नो ३१औँ वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौँ उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर हुन आउने २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ।

    साथै, विपद्का कारण उत्पन्न असहज परिस्थितिमा ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न संघले आग्रह गरेको छ।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यान बहादुर चन्दले असहज परिस्थितिमा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन उद्योगी तथा बिक्रेतालाई वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न अनुरोध गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend