काठमाडौँ / रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत देशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको छ। बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन र कतिपयले आफ्ना प्रियजनसमेत गुमाएका छन्।
यस्तो दुःख र कठिनाइको समयमा एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ। देश पुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा यस योगदानमार्फत एमएडब्ल्यू ग्रुपले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ।
फ्ल्यास फ्लडबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको र पुनःस्थापनाको यात्रा सहज नहुने एमएडब्ल्यू ग्रुपले जनाएको छ।
प्रभावित परिवारलाई तत्काल सहयोग र राहत पुर्याउने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत यस योगदानले आफ्नो जीवन पुनःनिर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने समूहले विश्वास लिएको छ।
यस योगदानबारे बोल्दै एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको बताए।
उनले मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन नसक्ने भन्दै अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने आशा व्यक्त गरे।
नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा एमएडब्ल्यू ग्रुपले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको जनाएको छ। यसपटकको योगदान पनि त्यही भावनाको निरन्तरता भएको समूहले जनाएको छ।
कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका सबैप्रति गहिरो सहानुभूति प्रकट गरेको छ।
एमएडब्ल्यू ग्रुपले राष्ट्रलाई आवश्यक परेको वर्तमान समय र आगामी दिनहरूमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
साथै, देशभर राहत तथा उद्धार कार्यमा अथक रूपमा खटिरहेका सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ।



