२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै


सञ्चार डबली
  • आइतबार, भदौ ७ २०८३
  • 1.2K
    SHARES

  • images
    दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ ।

    दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको प्रमुख उद्देश्य हो ।

    अगष्ट २३ को मिति सन् १७९१ मा हालको हाइटीको सेन्ट–डोमिङ्गमा सुरु भएको दास विद्रोहको स्मरणमा छनोट गरिएको हो । सन् १७९१ अगष्ट २२ देखि २३ को रातमा सुरु भएको उक्त विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

    युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा तथा सन् १९९९ मा सेनेगलको गोरे द्वीपमा मनाइएको थियो । त्यसपछि यो दिवस दास व्यापार तथा दासत्वको इतिहासबारे स्मरण, अध्ययन र जनचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अवसरका रूपमा विकसित भएको छ ।

    दिवसले दास व्यापार तथा दासत्वका कारण उत्पन्न ऐतिहासिक अन्याय र त्यसको दीर्घकालीन प्रभावबारे नयाँ पुस्तालाई जानकारी गराउँदै मानवअधिकार, स्वतन्त्रता, समानता र मानवीय मर्यादाको सम्मानका लागि प्रतिबद्ध हुन आह्वान गर्दछ ।

    युनेस्कोले दास व्यापार तथा दासत्वको इतिहासलाई स्मरण गर्नु विगतप्रतिको सम्मान मात्र नभई विभेद, जातीय पूर्वाग्रह तथा अमानवीय व्यवहारका सबै स्वरूपविरुद्ध वर्तमान र भविष्यमा सचेत रहनसमेत आवश्यक रहेकोमा जोड दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend