काठमाडौँ । काठमाडौँमा छोराको आकस्मिक मृत्यु भएको खबर सुनेलगत्तै दाङमा रहेकी आमाको पनि हृदयघातका कारण निधन भएको छ । केही घण्टाको अन्तरालमा आमा–छोराको मृत्यु भएपछि तुलसीपुर–५ स्थित परिवार शोकमा डुबेको छ।
तुलसीपुर उपमहानगरपालिका–५ का २८ वर्षीय आशिष थापा काठमाडौँमा अचानक बेहोस भएका थिए। उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको थियो ।
काठमाडौँबाट छोराको मृत्युको खबर परिवारले फोनमार्फत सुनाएपछि दाङमा रहेकी ५२ वर्षीया आमा राधा थापा अकस्मात बेहोस भएकी थिइन्। उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
परिवारका अनुसार छोराको निधनको खबरपछि आमाको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो। आमा–छोराकै एकैदिन निधन भएपछि थापा परिवारसहित स्थानीयवासी स्तब्ध भएका छन्।
मृतक दुवैको अन्त्येष्टिका लागि काठमाडौँमा रहेको आशिषको शव दाङ ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।



