काठमाडौँ । नेकपाका सांसद वर्षामान पुनले दैनिक जीवनका आधारभूत सेवा लिन नागरिकले सास्ती खेप्नुपरेको भन्दै सरकारको कार्यशैलीमाथि कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद पुनले नयाँ राजनीतिक शक्तिहरूको आगमनसँगै प्रशासनिक सुशासन आउने अपेक्षा गरिए पनि अवस्था झनै बिग्रँदै गएको आरोप लगाए। विगतका सरकारलाई मात्र दोष दिएर पन्छिन नमिल्ने भन्दै उनले नागरिकलाई कहिलेसम्म लाइनमा उभ्याइराख्ने हो भनेर सरकारसँग स्पष्ट जवाफ मागेका छन्।
सम्बोधनका क्रममा पुनले भने, “'आज एकातिर खाने ग्यासको आपूर्ति भएको छैन, बर्षाको बीचमा उपभोक्ताहरु, जनताहरु लाइनमा बसिरहेका छन्, अर्को तिर मल पर्याप्त उपलब्ध छैन, यसको पनि लाइन देखिन्छ, पासपोर्टको पनि लाइन देखिन्छ । नयाँ पार्टी, नयाँ साथीहरुको स्प्रिट थियो, विगत ३५ बर्षमा लाइन नै लाइन भयो भनिन्थ्यो, आज त झन् धेरै लाइन देखियो, कतिवटा लाइन बस्नुपर्ने हो जनताले ? नयाँ भनेको लाइन थप्ने भनेको हो ? यसमा हामीलाई जवाफ चाहिन्छ ।'”
उनले पुरानो व्यवस्था र स्थापित दलहरूलाई मात्रै दोष देखाएर पन्छिने छुट अब सरकारलाई नरहेको स्पष्ट पारे। मल तथा ग्यासको चरम अभाव हुनुमा आपूर्ति र वितरण प्रणालीको कमजोरी जिम्मेवार रहेको उल्लेख गर्दै पुनले तत्काल वितरण प्रणाली सुधार गरी जनतालाई राहत दिन माग गरे।



