२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल शीर्ष स्थानमा, अन्य बैंकको अवस्था कस्तो ?


सञ्चार डबली
  • आइतबार, साउन ३१ २०८३
  • 1.9K
    SHARES

  • images
    २० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, नबिल शीर्ष स्थानमा, अन्य बैंकको अवस्था कस्तो ?

    काठमाडौं- २० वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ मा ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३२ प्रतिशतले बढी हो।

    आर्थिक वर्ष २०८१/८२ मा २० वाणिज्य बैंकले कुल ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। एक वर्षमै बैंकहरूको सामूहिक नाफा १७ अर्ब रुपैयाँभन्दा बढीले बढेको हो।

    नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले नाफा वृद्धि गर्दै ७ अर्ब ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नबिलपछि कुमारी बैंक ७ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंक ६ अर्ब २२ करोड ७२ लाख रुपैयाँ खुद नाफासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

    समग्र बैंकिङ क्षेत्रको नाफा उल्लेख्य रूपमा बढे पनि सबै बैंकको अवस्था भने समान छैन। प्रभु बैंक यस अवधिमा नोक्सानमा गएको छ। बैंकले २४ करोड १२ लाख रुपैयाँ खुद नोक्सान व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षमा प्रभु बैंक ८७ करोड २३ लाख रुपैयाँ नाफामा थियो।

    WhatsApp Image 2026-08-18 at 08.57.20.jpeg
    undefined

    त्यस्तै, चार वाणिज्य बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ। लक्ष्मी सनराइज बैंकको नाफा २२.७७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५.३९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३६.५९ प्रतिशत र कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले घटेको छ।

    यता, अघिल्लो आर्थिक वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानमा रहेको एनआईसी एसिया बैंकले भने यस वर्ष उल्लेख्य सुधार गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा वृद्धि गर्ने बैंक हिमालयन बैंक बनेको छ। अघिल्लो आर्थिक वर्ष १२ करोड ९७ लाख रुपैयाँ मात्र नाफा कमाएको बैंकले यस वर्ष १०४१.४० प्रतिशतको वृद्धि गर्दै १ अर्ब ४८ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    त्यस्तै, कुमारी बैंकको नाफा पनि ३०५.९६ प्रतिशतले बढेको छ। नाफा रकम र वृद्धिदर दुवैमा केही बैंकले उल्लेख्य सुधार गरेपछि समग्र वाणिज्य बैंकिङ क्षेत्रको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा बलियो बनेको देखिएको छ।

    बैंकहरूको नाफा वृद्धिमा खराब कर्जा व्यवस्थापनमा सुधार, सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकममा कमी तथा सञ्चालन आम्दानीमा भएको सुधारले भूमिका खेलेको देखिन्छ। यद्यपि केही बैंकको नाफा घट्नु र प्रभु बैंक नोक्सानमा जानुले बैंकिङ क्षेत्रभित्रको वित्तीय प्रदर्शन भने समान नरहेको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend