काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पपछि आएका धेरै पराकम्पका कारण कम्तीमा पाँचजनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् । तर, राष्ट्रिय विपद् व्यवस्थापन निकाय बीएनपीबीले भने एकजनाको मृत्यु र चारजना घाइते भएको जनाएको छ ।
भूकम्पका कारण घर तथा अन्य संरचना भत्किँदा मानिसहरू पुरिएका थिए । पूर्वी नुसा तेङ्गारा, पश्चिम नुसा तेङ्गारा र दक्षिण सुलावेसीका विभिन्न क्षेत्रमा भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । धेरै मानिस डराएर घरबाट बाहिर निस्किएका थिए ।
भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका लहरसमेत देखिएका थिए। तर, करिब तीन घण्टापछि सुनामीको चेतावनी हटाइएको थियो । अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले पनि अस्ट्रेलियामा सुनामीको खतरा नरहेको जनाएको छ ।
इन्डोनेसियाको भौगर्भिक निकाय बीएमकेजीका अनुसार भूकम्प बिहान ४ः५८ बजे १५ किलोमिटर गहिराइमा गएको थियो । त्यसपछि लगातार पराकम्प आएका थिए ।
भूकम्पबाट धेरै घर, गोदाम र सरकारी भवनमा क्षति पुगेको छ । केही क्षेत्रमा सडक र विद्युत् सेवा पनि प्रभावित भएको छ । नागेकेओ क्षेत्रका करिब दुई हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
इन्डोनेसिया ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ भूकम्प र ज्वालामुखीका घटना बारम्बार हुने गर्छन् ।


