काठमाडौँ / गत मंगलबारदेखि सुरु भएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारीसाधन बुकिङ गर्नेहरूको चाप बढेको छ । एक्स्पोमा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनको स्टलमा मात्रै नभएर बैंकहरूको स्टलमासमेत भीड बढेको छ ।
एक्सपोका लागि विशेषगरी खरिदका लागि बैंकहरूले ल्याएका विशेष अटो लोन योजनाले अवलोकनकर्ताको ध्यान तानेको छ ।
एक्स्पोको को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलबाटै कर्जा सम्बन्धी जानकारी, आवेदन तथा सहजीकरणको सुविधा दिएका छन् ।
आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताहरू कर्जा सुविधाबारे जानकारी लिन बैंकका स्टलमा पुग्ने क्रम बढेको छ । बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म प्रिमियममा अटो लोन उपलब्ध गराइरहेका छन् भने केही योजनामा सेवा शुल्क ०.५ प्रतिशतसम्म कायम गरिएको छ ।
एक्स्पोको चाैथाे दिनसम्म आइपुग्दा अवलोकनकर्ताको चापसँगै बैंकका स्टलमा पनि कर्जा लिन इच्छुक ग्राहकको संख्या बढेको बैंकरहरूले बताएका छन् ।
ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टका अनुसार हरेक दिन एक्स्पोमा अवलोकनकर्ताको संख्या बढेसँगै बैंकको स्टलमा कर्जाबारे जानकारी लिन आउनेको संख्या पनि उल्लेख्य बढेको छ ।
‘गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य छ,’ उनले भने, ‘सवारी विक्रेता कम्पनीहरुले ल्याएका आकर्षक अफरलाई वित्तीय सुविधामार्फत सहयोग पुग्नेगरी हामीले काम गरिरहेका छौँ ।’
बैंकका स्टलले एक्स्पोमै कर्जाका लागि विवरण संकलन गरी ग्राहकलाई सम्बन्धित शाखासँग जोड्ने काम गरिरहेका छन् । ग्लोबल आइएमई बैंकले कर्जाका लागि आवेदन दिने ग्राहकलाई आवश्यक प्रक्रियाबारे जानकारी गराउँदै शाखासम्म पुग्न सहजीकरण गरिरहेको जनाएको छ ।
सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले मेलास्थलमा संकलन भएका ग्राहकका विवरण केन्द्रीय कार्यालयमा पठाउने र त्यहाँबाट ग्राहकलाई सम्बन्धित शाखासँग जोड्ने गरिएको बताए ।
‘कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौँ,’ उनले भने । उनका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि नाम दर्ता गराउने ग्राहकको संख्या दैनिक रूपमा बढिरहेको छ ।
एनएमबी बैंकले पनि एक्स्पोलाई लक्षित गर्दै ब्याजदरमा विशेष सुविधा ल्याएको जनाएको छ । बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तले मेलास्थलबाटै ग्राहकलाई कर्जा प्रक्रियाबारे सहजीकरण भइरहेको बताइन् ।
‘हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘नाइमालाई लक्षित गरेर ब्याजदर रिभाइज गरेका हौँ । ग्राहकको रेस्पोन्स राम्रो आइरहेको छ ।’
सवारीसाधन खरिदमा बैंकको वित्तीय सुविधा सहज रूपमा उपलब्ध हुन थालेपछि एक्स्पोमा बिक्री तथा बुकिङ गतिविधिलाई समेत यसले सहयोग पुर्याउने देखिएको छ । बैंकहरुले मेलास्थलमै ग्राहकको आवश्यकता बुझेर कर्जा प्रक्रियाबारे जानकारी दिँदा अवलोकनकर्तालाई सवारी छनोटपछि वित्तीय व्यवस्थापन गर्न सहज भएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनमा राखिएका छन् । नयाँ सवारीसाधनसँगै बैंकहरूले ल्याएका आकर्षक कर्जा योजनासमेत एक्स्पोका प्रमुख आकर्षण बनेका छन् ।
सिद्धार्थ बैंकको नाइमा विशेष अटो लोन अफर
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा सिद्धार्थ बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
एक्स्पोमा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि ०.५ प्रतिशत प्रोसेसिङ फी मा कर्जा उपलब्ध गराउने जनाएको छ।
बैंकका अनुसार उक्त कर्जाको ब्याजदर आधार दरमा वार्षिक १ प्रतिशत प्रिमियम थप हुनेछ।
विशेष कर्जा योजना साउन २६ देखि ३१ गतेसम्म अर्थात् ११ देखि १६ अगस्ट २०२६ सम्म सञ्चालन भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर लागु हुनेछ।
योजनासम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अटो लोन
ग्लोबल आइएमई बैंकले पनि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन्।
हालको आधारदरअनुसार यस कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। आधारदरमा परिवर्तन भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
यस्तै, नयाँ विद्युतीय सवारीसाधन (इभि) खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ।
तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी निर्धारण हुनेछ। बैंकले नाइमा एक्स्पोमा आफ्नो स्टल राखेर गाडी खरिद गर्न इच्छुक ग्राहकलाई कर्जा प्रक्रियाका लागि सहजीकरण गरिरहेको छ।
ग्राहकले एक्स्पोमै रहेको बैंकको स्टलबाट कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवश्यक कागजात पूरा गरेको अवस्थामा बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।
एनएमबी बैंकको नाइमा विशेष ‘इभि अटो कर्जा’
एनएमबी बैंक लिमिटेडले पनि नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष ‘इभि अटो कर्जा’ योजना सार्वजनिक गरेको छ ।
या बैंकले पनि नाइमा एक्स्पोलाई लक्षित गर्दै आधारदरमा थप ०.५ प्रतिशत प्रिमियममा विद्युतीय सवारीसाधन कर्जा उपलब्ध गराउने योजना ल्याएको हो ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले किफायती ब्याजदरमा कर्जा योजना ल्याइएको बैंकले जनाएको छ।
सीमित अवधिका लागि उपलब्ध हुने उक्त कर्जा नयाँ विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकले सरल तथा छिटो प्रक्रियाबाट लिन सक्ने बैंकको भनाइ छ ।
कर्जा लिन इच्छुक ग्राहकले नाइमा एक्स्पोमा रहेको एनएमबी बैंकको स्टलबाटै आवेदन दिन सक्नेछन् । साथै, देशभर रहेका बैंकका शाखामार्फत पनि कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अटो लोन अफर
मुक्तिनाथ विकास बैंक लिमिटेडले पनि नाइमा एक्स्पो लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले एक्स्पोको अवसरमा बेस रेट प्लस शून्य प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ।
यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ।
बैंकका अनुसार हाल उक्त योजनाअन्तर्गत अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। विशेष ब्याजदरको अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।
ग्राहकले कर्जाका लागि आवेदन दिई आवश्यक सम्पूर्ण कागजात पूरा गरेको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसबाट नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई छिटो र सहज रूपमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।
विशेष अटो लोन सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखाबाट उपलब्ध हुने जनाइएको छ। नाइमा एक्स्पोमा सहभागी भई नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले उक्त योजनाबाट लाभ लिन सक्नेछन्।



