काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवी, वडा सचिव वीर बहादुर थापा मगरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सरकारी कागजात सच्याएको, झुट्टा तथा नक्कली करारनामा तयार गरेको र सरकारी छापको दुरुपयोग गरेको आरोपमा बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार वडा अध्यक्ष धोवी, वडा सचिव थापा मगर तथा विकास कुमार चापागाई र रविन्द्र लामिछानेको आपसी मिलेमतो र योजनामा गैरकानुनी लाभ लिने उद्देश्यले प्रमाण सिर्जना गरिएको थियो।
उनीहरूले २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने झुट्टा तथा नक्कली करारनामा तयार गरेको आयोगको अनुसन्धानबाट पुष्टि भएको जनाएको छ।
उक्त करारनामालाई प्रमाणित गर्न वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा थपघट तथा सच्याउने कार्य गरिएको आयोगले जनाएको छ।
साथै वडा कार्यालयमा प्रयोग हुँदै आएको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ।
त्यस्तै, वडा अध्यक्ष धोवी र वडा सचिव थापा मगरले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरण फेरबदल गरेको र चलानी नम्बर ७२४२ बाट झुट्टा विवरणसहितको गलत लिखत तयार गरी आयोगको अभिलेखमा रहने गरी पत्राचार गरेको पनि अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको ठहर गर्दै चारै जनाविरुद्ध सजायको मागदाबी गरेको छ।
वडा अध्यक्ष कौशल कुमार धोवीविरुद्ध दफा ९ र ११ बमोजिमको कसुरमा सोही दफाअनुसार कैद र जरिवानाको सजाय माग गरिएको छ। वडा सचिव वीर बहादुर थापा मगरविरुद्ध दफा ९ बमोजिमको कसुरमा कैद र जरिवानाको मागदाबी गरिएको छ।
त्यस्तै, रविन्द्र लामिछाने र विकास कुमार चापागाईलाई मुख्य कसुरदारको कसुरजन्य कार्यमा गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भएको आरोप लगाइएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।


