काठमाडौँ / काभ्रेपलाञ्चोकमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री वितरण गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालि को पसल तथा गोदाममा छापा मारेर करोडौँ रुपैयाँ मूल्यका अवैध रूपमा आयात गरिएका नक्कली पार्टपूर्जा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पसलसहित व्यवसायी राजकुमार पोतेका १० वटा गोदाममा समेत छापा मारिएको थियो। प्रहरीले ती सबै स्थानमा सिलबन्दी गरी पोतेलाई पक्राउ गरेको जनाएको छ।
नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्ट्स बिक्रीमार्फत उपभोक्तालाई ठगी गरेको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। पक्राउ परेका पोते यसअघि पनि राजस्व छलीसम्बन्धी घटनामा पक्राउ परी कारबाहीमा परिसकेको बताइएको छ।
नक्कली पार्टपूर्जाको प्रयोगले सवारीसाधनको सुरक्षामा जोखिम बढ्नुका साथै दुर्घटना तथा जनधनको क्षति हुन सक्ने भन्दै प्रहरीले यस्तो कारोबार नियन्त्रणलाई प्राथमिकता दिएको जनाएको छ।
यस्ता अवैध कारोबारका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाउनुका साथै वैधानिक रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीसमेत प्रभावित हुने गरेको प्रहरीको भनाइ छ।
प्रहरी प्रशासनले अवैध पार्टपूर्जा तथा अन्य गैरकानुनी कारोबारमा संलग्न व्यक्तिहरूको खोजी र कारबाहीलाई देशभर थप तीव्र बनाउने जनाएको छ।



