काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफासहित अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा ३५.३४ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६४ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशतले वृद्धि भई २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ। असुलीमा सुधार र प्रभावकारी जोखिम व्यवस्थापनका कारण बैंकले छुट्याउने इम्पेयरमेन्ट चार्ज उल्लेखनीय रूपमा घटेको छ। गत आर्थिक वर्षमा बैंकले ४ करोड ९० लाख रुपैयाँ मात्र इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जबकि अघिल्लो वर्ष यस्तो रकम ६४ करोड ७० लाख रुपैयाँ थियो।
बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि सुधार हुँदै २८ रुपैयाँ ४ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको EPS २१ रुपैयाँ ९६ पैसा रहेको थियो।
वित्तीय विवरणअनुसार बैंकको लाभांश वितरण क्षमता पनि मजबुत बनेको छ। नियामकीय समायोजनपछि गत आर्थिक वर्षको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस शेयर तथा नगद लाभांश समायोजनपछि कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।
साधारण शेयरधनीका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ, जसले आगामी लाभांश क्षमताप्रति सकारात्मक संकेत गरेको विश्लेषण गरिएको छ।



