काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारालाई कायम राख्नु सबैको साझा दायित्व भएको जनाएको छ।
संघले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ।
विज्ञप्तिमा यस्ता घटनाले शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र नभई आम नागरिकको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ। विशेषगरी व्यवसायिक वातावरण प्रभावित हुने भएकाले व्यवसायी समुदाय चिन्तित रहेको नाडाले जनाएको छ।
नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ। साथै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति सुरक्षा, नागरिकको जनधनको संरक्षण तथा सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरेको छ।



