काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडपमा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने परिस्थिति थियो वा थिएन भन्ने विषयमा निष्पक्ष र विस्तृत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन्।
सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। उक्त विवादले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने खतरा औँल्याउँदै उनले यस्ता संवेदनशील विषयमा राज्यले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए। सम्बोधनका क्रममा दाहालले समस्या समाधानका अन्य विकल्पहरूमा कति पहल गरियो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै जनताको असन्तुष्टिलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
यसैगरी, पूर्वप्रधानमन्त्री दाहालले देशको वर्तमान राजनीतिक परिस्थिति र सरकारको सुस्त कार्यशैलीप्रति पनि चिन्ता व्यक्त गरेका छन्। निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता र जनअभिमतअनुसार सरकारका क्रियाकलापहरू अघि बढ्न नसकेको टिप्पणी गर्दै उनले जनताको अपेक्षा र सरकारको कार्यसम्पादनबीच तालमेल नमिल्दा स्थिति दिनानुदिन जटिल बन्दै गएको बताए। सदनमा हुने तर्क-वितर्क र फरक मत स्वाभाविक भए तापनि सरकारले देशको बढ्दो असन्तुष्टि र विषम परिस्थितिलाई गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ थियो।


