काठमाडौँ । नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार मुलुकमा शान्ति-सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री अर्यालले साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र एक नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको कडा आलोचना गरिन्।
उनले दङ्गा नियन्त्रणका लागि बल प्रयोगभन्दा पनि संवाद, विश्वास र संयमताको बाटो रोज्नुपर्नेमा राज्यले त्रास फैलाएर स्थिति थप उत्तेजित बनाएको बताइन्। घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिन्। विगतमा साना-साना घटनामा पनि तत्कालीन सरकारको राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराउँदै उनले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल पद छाड्नुपर्ने दाबी गरिन्।
काठमाडौँमा गोली चल्दा जवाफदेहिता खोज्नेहरू आज नागरिकको ज्यान जाँदा मौन बसेको टिप्पणी गर्दै अर्यालले प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र नभएको र देश सङ्कटमा पर्दा नेतृत्व जनताको माझ पुगेर संवाद गर्नुपर्नेमा जोड दिइन्। यसका साथै, उनले प्रधानमन्त्रीका केही अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकतामाथि आँच पुर्याएको, बाढी-पहिरो प्रभावितको राहत तथा पुनर्स्थापनामा सरकार सुस्त रहेको र सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा राखेर अमानवीय ढङ्गले हटाइएको भन्दै सरकारको गैरजिम्मेवार कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरिन्।


