काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको साझा सम्पत्ति भएकाले यसको संरक्षणका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सामाजिक सद्भावका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहलमा बुधबार आयोजना गरिएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो धारणा राखेका हुन्। वर्तमान संवेदनशील घडीमा प्रमुख दलहरूलाई एउटै मञ्चमा ल्याउने वातावरण बनाएकोमा उनले रास्वपा र सभापति रवि लामिछानेलाई धन्यवाद दिए।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कसैको उपहार नभई सम्पूर्ण नेपालीहरूको साझा प्रयासबाट आर्जित अमूल्य पूँजी भएको उल्लेख गर्दै महामन्त्री थापाले यसलाई जोगाउन सबै पक्षले संयम, धैर्य र संवादको बाटो अपनाउनुपर्नेमा जोड दिए। नेपाली कांग्रेसले यस विषयमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेको जानकारी दिँदै उनले पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिहरूलाई स्थानीय तहमै संवाद र सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको बताए।
प्रभावित तथा सम्भावित संवेदनशील क्षेत्रहरूमा सर्वदलीय समन्वयलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्नेमा उनले विशेष जोड दिए। शान्ति सुरक्षा कायम राख्नका लागि प्रशासन, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजले पूर्वतयारीसहित एकीकृत रूपमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। संकटको यस घडीमा नेपाली कांग्रेसले आफ्नो जिम्मेवार भूमिका निरन्तर निभाउने प्रतिवद्धता जनाउँदै उनले परिस्थितिलाई नियन्त्रणमा लिन र शान्ति कायम गर्न सरकारको उपस्थिति अझ सक्रिय, प्रभावकारी र जिम्मेवार हुनुपर्ने ध्यानाकर्षण गराए।



