काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले नेतृत्व तहमा दुई वरिष्ठ अधिकारीलाई बढुवा गरेको छ। बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार काठमाडौँ विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका अर्यालसँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ। उनले कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायतका क्षेत्रमा काम गरेका छन्।
यसअघि उनी सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन्।
यस्तै, चार्टर्ड एकाउन्टेन्ट सुभाष जमरकटेल बैंकिङ तथा वित्तीय व्यवस्थापनका अनुभवी व्यवसायीका रूपमा परिचित छन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।
बैंकले अर्याल र जमरकटेल दुवैले आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरूको नेतृत्वले बैंकको संस्थागत विकास, सेवा विस्तार तथा व्यावसायिक उत्कृष्टतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

