२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

विश्वकप फाइनलअघि मेसीको भावुक सन्देश


सञ्चार डबली
  • आइतबार, साउन ३ २०८३
  • 495
    SHARES

  • विश्वकप फाइनलअघि मेसीको भावुक सन्देश

    काठमाडौँ । फिफा विश्वकप फुटबलको फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना टोलीका खेलाडी र समर्थकलाई लक्षित गर्दै भावुक सन्देश सार्वजनिक गरेका छन् ।

    स्पेनसँगको उपाधि भिडन्तअघि उनले सामाजिक सञ्जालमार्फत टोलीसँग बिताएका अविस्मरणीय क्षण नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । मेसीले अर्जेन्टिना टोली र सहयोगी सदस्यहरूसँगको सामूहिक तस्बिर साझा गर्दै वर्षौँको यात्रामा उपाधिभन्दा पनि टोलीसँग बिताएका हरेक पल, कठिन समयमा एकअर्कालाई दिएको साथ र साझा संघर्ष आफ्नो लागि सबैभन्दा अमूल्य रहेको उल्लेख गरेका छन् ।

    उनले प्रशिक्षक, खेलाडी तथा टोलीसँग आबद्ध सबै सदस्यप्रति आभार व्यक्त गर्दै नतिजा जे आए पनि अर्जेन्टिनाले विश्व फुटबलमा कसैले मेटाउन नसक्ने इतिहास लेखिसकेको बताएका छन् । सन्देशको अन्त्यमा उनले ‘आऊ अर्जेन्टिना’ भन्दै टोलीलाई हौसला दिएका छन् ।

    उनले भनेका छन्- 'यी सबै वर्षहरूमा सबैभन्दा सुन्दर कुरा केवल उपाधिहरू जित्नु मात्रै थिएन, त्यो सम्पूर्ण यात्रा थियो । यो समूहसँग हरेक दिन बिताउनु, सँगै प्रतिस्पर्धा गर्नु, कठिन समयमा एकअर्कालाई उठाउन साथ दिनु र यात्राको हरेक क्षणको आनन्द लिनु नै सबैभन्दा विशेष रह्यो । मेरा प्रत्येक सहकर्मी खेलाडी, प्रशिक्षक टोली तथा यो राष्ट्रिय टोलीलाई सधैँ एउटा परिवारका रूपमा अघि बढाउन दिनहुँ समर्पित भएर काम गर्ने सबैप्रति हार्दिक धन्यवाद । भोलि जे भए पनि, यो समूहले यस्तो इतिहास लेखिसकेको छ, जसलाई हामी कहिल्यै बिर्सने छैनौँ र कसैले पनि मेटाउन सक्ने छैन ।'

    मेसीको सन्देशलाई उनको अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्तिम अध्यायतर्फको संकेतका रूपमा पनि हेरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल उनको अन्तिम विश्वकप खेल हुन सक्ने व्यापक अनुमान गरिएको छ भने यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि विश्राम लिन सक्ने चर्चा चलिरहेको छ । यद्यपि, उनले आफ्नो भविष्यबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

    उनले अहिले आफ्नो सम्पूर्ण ध्यान फाइनल खेलमा केन्द्रित रहेको बताउँदै इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनल जितले अर्जेन्टिनाका समर्थकलाई खुसी दिने अवसर मिलेको उल्लेख गरेका छन् ।

    मेसी व्यक्तिगत उपलब्धिको दौडमा पनि छन् । सर्वाधिक गोलकर्तालाई प्रदान गरिने सम्मानका लागि उनको प्रतिस्पर्धा जारी रहे पनि उनको मुख्य लक्ष्य अर्जेन्टिनालाई अर्को ऐतिहासिक विश्वकप उपाधि दिलाउनु रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend