काठमाडौँ / एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र छिटो बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग नागरिक एप इन्टिग्रेसनका लागि सहकार्य गरेको छ।
सम्झौतापछि अब एनएमबि बैंकका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैंकिङसँग सम्बन्धित विभिन्न फाराम सहज रूपमा भर्न सक्नेछन्। यसबाट व्यक्तिगत विवरण पटक-पटक हातैले प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, कागजी प्रक्रिया घट्ने तथा बैंकिङ सेवा अझ छिटो र प्रभावकारी हुने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकको व्यक्तिगत विवरणको गोपनीयता र सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न पाउने छैन। साथै, प्राप्त जानकारी सम्बन्धित सेवा प्रदान गर्न आवश्यक प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ।
एनएमबि बैंकले यो सहकार्यलाई देशमा विस्तार हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधारको प्रभावकारी उपयोग गर्दै बैंकिङ सेवालाई सुरक्षित, सरल र झन्झटरहित बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

