काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा सञ्चालन भइरहेको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ ।
कुल ४८ टोलीको सहभागिताबाट सुरु भएको विश्वको सबैभन्दा ठुलो फुटबल महोत्सवमा एक महिना लामो रोमान्चक प्रतिस्पर्धा, अप्रत्याशित नतिजा र दर्जनौँ खेलहरू पार गर्दै चार महारथी सेमिफाइनलमा प्रवेश गरेका छन् । यसपटकको सेमिफाइनल समीकरण विशेष छ, किनभने अन्तिम चारमा पुगेका सबै टोलीहरू यसअघि नै विश्वविजेता बनिसकेका स्थापित फुटबल शक्ति हुन् ।
साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्गल्यान्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच महाभिडन्त हुनेछ भने दोस्रो सेमिफाइनलमा इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन् । यी चारै टोली अब फिफा विश्वकपको ऐतिहासिक उपाधिबाट मात्र दुई जित टाढा छन् ।
क्वाटरफाइनलको नतिजा र सेमिफाइनलको बाटो:
फ्रान्स: मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रोपटक सेमिफाइनलमा।
स्पेन: बेल्जियममाथि २-१ को कठिन जित निकाल्दै १६ वर्षपछि अन्तिम चारमा।
इङ्गल्यान्ड: अतिरिक्त समयमा नर्वेलाई २-१ ले पन्छाउँदै सेमिफाइनलमा।
अर्जेन्टिना: अतिरिक्त समयसम्म पुगेको रोमान्चक खेलमा स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै उपाधिनजिक।
१. फ्रान्स: उपाधि रक्षाको बलियो दाबेदार
पछिल्लो एक दशकमा विश्व फुटबलको सबैभन्दा स्थिर टोलीमध्येको एक फ्रान्स फेरि विश्वकप उपाधिनजिक पुगेको छ । सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्सले २०२६ मा पनि आफ्नो लय कायमै राखेको छ । समूह चरणमा सेनेगल, इराक र नर्वेलाई हराउँदै समूह विजेता बनेको फ्रान्सले नकआउटमा स्वीडेन र पाराग्वेलाई पाखा लगायो ।
टोलीको मुख्य हतियार कप्तान किलियन एमबाप्पे हुन्, जसले प्रतियोगितामा ८ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान ओगटेका छन् । उनलाई ओस्मान डेम्बेलेले ५ गोलसहित अग्रपंक्तिमा बलियो साथ दिएका छन् । आठौँ पटक सेमिफाइनल खेल्न लागेको फ्रान्स डिडियर डेसच्याम्पको नेतृत्वमा लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ ।
२. स्पेन: टिकिटाका र आधुनिक फुटबलको सम्मिश्रण
प्रतियोगिताको पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेल्दै आलोचना खेपेको स्पेनले त्यसपछि भने उत्कृष्ट पुनरागमन गर्यो । साउदी अरेबिया, उरुग्वे, अस्ट्रिया र पोर्चुगललाई हराउँदै क्वार्टरफाइनल पुगेको स्पेनले बेल्जियमविरुद्ध २–१ को कठिन जित निकाल्यो । खेल सकिन २ मिनेट बाँकी छँदा मिकेल मेरिनोले गरेको गोल स्पेनका लागि निर्णायक बन्यो ।
युवा स्टार लामिन यामाल, रोड्री र फाबियन रुइजको उत्कृष्ट प्रदर्शनको मद्दतमा लुइस डे ला फुएन्टेको टोलीले बल नियन्त्रण (बल पोजिसन) सँगै तीव्र आक्रमणको शैली अपनाएको छ । सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि पहिलोपटक सेमिफाइनल पुगेको हो र टोली दोस्रो उपाधिको खोजीमा छ ।
३. इङ्गल्यान्ड: ६० वर्षको खडेरी तोड्ने दाउ
सन् १९६६ पछि विश्वकप ट्रफी उचाल्न नसकेको इङ्गल्यान्ड यसपटक थोमस टुखेलको रणनीतिमा इतिहास बदल्ने दाउमा छ । नकआउट चरणमा कंगो र आयोजक मेक्सिकोलाई कठिन मोडमा हराएको इङ्गल्यान्डले क्वाटरफाइनलमा नर्वेका खतरनाक स्ट्राइकर एर्लिङ हालान्डलाई रोक्दै अतिरिक्त समयमा २-१ को जित निकाल्यो ।
इङ्गल्यान्डका लागि जुड बेलिङ्घम र कप्तान ह्यारी केन (६ गोल) निर्णायक खेलाडीका रूपमा उदाएका छन् । दबाबकाबीच खेल जित्ने मानसिक क्षमता देखाएको इङ्गल्यान्ड चौथोपटक विश्वकपको अन्तिम चारमा पुगेको हो । फाइनल प्रवेशका लागि उसले साविक विजेता अर्जेन्टिनाको कडा चुनौती पार गर्नुपर्नेछ ।
४. अर्जेन्टिना: मेसीको कप्तानीमा लगातार दोस्रो उपाधिको लक्ष्य
साविक विजेता अर्जेन्टिनाको यस विश्वकपको यात्रा निकै चुनौतीपूर्ण र रोमान्चक रहेको छ । समूह चरणमा शतप्रतिशत जित निकाले पनि नकआउटमा केप भेर्डे र इजिप्टविरुद्ध टोलीले कडा सङ्घर्ष गर्नुपर्यो । क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै अर्जेन्टिना छैटौँ पटक सेमिफाइनलमा पुगेको हो ।
३९ वर्षको उमेरमा पनि लियोनल मेसी ८ गोल र सानदार असिस्टसहित टोलीका मुख्य सुत्रधार बनिरहेका छन् । उनलाई जुलियन अल्भारेज र लाउतारो मार्टिनेज जस्ता स्टारहरूले बलियो साथ दिएका छन्। सन् १९७८, १९८६ र २०२२ को विजेता अर्जेन्टिना मेसीको सम्भावित अन्तिम विश्वकपमा लगातार दोस्रो र समग्रमा चौथो उपाधि जित्ने अभियानमा छ ।
चार महारथी, एउटै सपना
४८ टोलीबाट सुरु भएको यो महाकुम्भ अब न्युयोर्क न्युजर्सीमा हुने फाइनल भिडन्ततर्फ केन्द्रित भएको छ । एकातिर एमबाप्पेको फ्रान्स र युवा जोशले भरिएको स्पेन भिड्नेछन् भने अर्कोतिर ६० वर्षदेखि उपाधि पर्खिएको इङ्गल्यान्डका सामु मेसीको अर्जेन्टिना उभिएको छ । जुलाई १९ मा यी चार महारथीमध्ये केवल एकले फिफा विश्वकप २०२६ को सुनौलो ट्रफी उचाल्नेछ ।

