काठमाडौँ / नविल बैंकले दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवको अवसरमा साताव्यापी रूपमा सञ्चालन गरेको ‘नबिल ग्रिन विक–२०२६’ वृक्षारोपण कार्यक्रमसहित सम्पन्न गरेको छ।
बैंकले आइतबार काठमाडौँ महानगरको गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेर अभियानको समापन गरेको जनाएको छ। असार १५ गतेदेखि सुरु भएको ‘नबिल ग्रिन विक’ अन्तर्गत विभिन्न वातावरण संरक्षण तथा दिगोपनसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।
नबिल बैंक र लुम्विनी वर्ड पिस फाेरम नेपालको सहकार्यमा सम्पन्न वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिका–२ वडा कार्यालयले बिरुवाको संरक्षण गर्ने जिम्मेवारी लिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, बैंकका कर्मचारी, स्थानीयवासी तथा वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले दिगो बैंकिङप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए। उनले वृक्षारोपणसँगै बिरुवाको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, साझेदार संस्था तथा सहभागी सबैप्रति आभार व्यक्त गरे।
उनका अनुसार नबिलको दिगो बैंकिङ अभियान ‘मानिस, पृथ्वी र समृद्धि’ (People, Planet and Prosperity) को अवधारणामा आधारित छ। ‘नबिल दिगो बचत खाता’ मार्फत ग्राहकलाई दिगो विकासका गतिविधिसँग जोड्ने तथा वातावरणीय र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्य बैंकले लिएको जनाएको छ।
बैंकका अनुसार पछिल्लो पाँच वर्षमा दिगो बैंकिङ संस्थाको रणनीतिक प्राथमिकताका रूपमा स्थापित भएको छ। यस अवधिमा बैंकले डिजिटाइजेसनमार्फत २० मेट्रिकटनभन्दा बढी कागज बचत गरेको छ भने नवीकरणीय ऊर्जा, स्वच्छ यातायात, कृषि, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई), महिला उद्यमी वित्तपोषण, पर्यटन तथा अन्य उत्पादनमूलक क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरेको जनाएको छ।
बैंकले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, एमएसएमई क्षेत्रमा ४५ अर्ब ७७ करोड रुपैयाँ, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ तथा डीडीएसएल कर्जाअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी गरिएको छ।
बैंकका अनुसार उक्त लगानीमार्फत एक लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ, जसमा ३१ प्रतिशत महिलाको सहभागिता रहेको छ। यसैगरी, पाँच वर्षमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २५ करोड ६० लाख रुपैयाँ खर्च गरिएको तथा ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (एसईई)’ मार्फत एक हजार ५७७ उद्यमीलाई तालिम प्रदान गरिएको बैंकले जनाएको छ।
वातावरणीय प्रभावका हिसाबले पनि बैंकले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। नवीकरणीय ऊर्जा आयोजनामा गरिएको लगानीबाट चार वर्षमा करिब ३९ हजार ४५०.६८ टन कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुगेको तथा डिजिटाइजेसन र स्वचालित प्रणालीमार्फत वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी र करिब २० मेट्रिकटन कागज बचत भएको बैंकको भनाइ छ।
बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) प्रणालीलाई आफ्नो व्यवसाय तथा जोखिम व्यवस्थापन प्रक्रियामा समावेश गरेको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) सम्बन्धी प्रतिवेदनलाई थप सुदृढ बनाउँदै लगिएको पनि बैंकले उल्लेख गरेको छ।
हाल नबिल बैंकमा कार्यरत कुल जनशक्तिमध्ये ३९.१५ प्रतिशत महिला रहेका छन् भने ५० जना महिलाले शाखा तथा रणनीतिक व्यवसाय इकाइहरूको नेतृत्व गरिरहेका छन्।
देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको नबिल बैंकका २५ लाखभन्दा बढी ग्राहक रहेका छन्। बैंकले डिजिटल बैंकिङ सेवाअन्तर्गत ‘एनबैंक’ सञ्चालन गर्दै दिगो, प्रविधिमैत्री र उत्तरदायी बैंकिङलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

