काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहले उठाएका दुई प्रमुख माग पूरा गर्न नसकिने बताएका छन् ।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समायोजन गर्ने र क्रियाशील सदस्यताको अद्यावधिक नगरी महाधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव कांग्रेसको विधानविपरीत भएकाले स्वीकार गर्न नसकिने स्पष्ट पारेका हुन् ।
कांग्रेसको संगठन जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै थापाले विधानले व्यवस्था नगरेका विषय कार्यान्वयन गर्न आफूलाई अधिकार नभएको बताए ।
‘क्रियाशील सदस्यताको अद्यावधिक नगरी अघि बढ्ने कुरा विधानविपरीत मात्र होइन, अव्यावहारिक र अराजनीतिक पनि हुन्छ,‘ उनले भने ।
देउवा–शेखर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय सदस्यलाई वर्तमान समितिमा समायोजन गर्नुपर्ने र क्रियाशील सदस्यताको अद्यावधिकलाई अनिवार्य बनाउन नहुने माग गर्दै आएका छन् ।

