काठमाडौं । तीन वर्ष पूरा भएका शिक्षकको सरुवा एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयलमा सरुवा हुने भएको छ ।
बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औं संशोधन) मा भनिएको छ, ‘स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिनेछ ।’
तर अपाङ्गता, अरूको सहायतामा हिँड्डुल गर्नुपर्ने अशक्त, गर्भवती र दुई वर्षभन्दा कम उमेरको बच्चा भएको महिलाको हकमा भने यो नियम लागु हुने छैन । सरुवा गर्दा आधारभूत तहको कक्षागत शिक्षकलाई समान तहको रिक्त पदमा, आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नु पर्ने प्रावधान नियमावलीमा राखिएको छ ।
सामुदायिक विद्यालयका लागि सरकारबाट स्वीकृत भई दरबन्दीमा कार्यरत शिक्षक सरुवा भई अन्यत्र गएमा, अनिवार्य अवकाश भएमा, मृत्यु भएमा, स्वेच्छिक अवकाश लिएमा, प्रचलित कानुनबमोजिम सेवाबाट हटाइएको, बर्खास्त गरिएको सूचना विद्यालयमा प्राप्त भएमा वा नयाँ दरबन्दी थप भएको अवस्थामा शिक्षक पद रिक्त भएको मानिने भएको छ ।
रिक्त शिक्षक पदको विवरण केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा विद्यालयले प्रविष्ट गरी पद रिक्त भएको मितिले सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई लिखित रूपमा अनिवार्य जानकारी दिनु पर्ने प्रावधान नियमावलीमा राखिएको छ । तर अनिवार्य अवकाश हुने भई शिक्षकको पद रिक्त हुने भएमा ३० दिन अगावै सरुवासम्बन्धी प्रक्रिया अगाडि बढाउन सकिने छ ।
रिक्त पदको जानकारी प्राप्त भएपछि सम्बन्धित स्थानीय तहले नियमावलीको अनुसूची–१२ बमोजिमको न्यूनतम दरबन्दी भएको अवस्थामा विषयगत प्राथमिकता भए नभएको समेत यकिन गर्नुपर्ने छ ।
र, एकै विद्यालयमा एक तहमा एक विषयका लागि एक भन्दा बढी शिक्षक नरहने गरी र न्यूनतम भन्दा बढी दरबन्दी भएको अवस्थामा सोही अनुसूचीमा भएको विषयको क्रमश: हुने गरी केन्द्रको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा सम्बन्धित विद्यालयको अद्यावधिक विवरणको आधारमा विद्यालयले पेस गरेको रिक्त शिक्षक पदमा सरुवा गरी वा शिक्षक सेवा आयोगमा विज्ञापन गरी पदपूर्ति गर्ने विषयमा सम्बन्धित स्थानीय तहले पद रिक्त भएको सात दिनभित्र निर्णय गर्नुपर्नेछ ।
शिक्षक सरुवा गरी ल्याउनु पर्ने भएमा विद्यालयले कम्तीमा पन्ध्र दिनको म्याद दिई सूचना आह्वान गर्नु पर्नेछ । सरुवाको विज्ञापन भैसकेपछि सरुवा विज्ञापन स्थगित गर्न पाइने छैन । सरुवा सूचना विद्यालय, स्थानीय तह र जिल्ला शिक्षा तथा समन्वय इकाइको वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ । सूचना सार्वजनिक नगरी सरुवा गरिएको प्रमाणित भएमा उक्त सरुवा बदर हुनेछ ।
तर सूचना आह्वान गर्दा नियमावलीको नियम ९१ अनुसार महिला शिक्षकको दरबन्दीमा महिला शिक्षक कार्यरत नरहेको वा तोकिएभन्दा कम सङ्ख्यामा कार्यरत रहेको भए महिला शिक्षकबाटै सरुवा गर्ने गरी स्पष्ट खुलाउनु पर्नेछ ।
दरबन्दी मिलानको सन्दर्भमा दरबन्दी कटौतीमा परेका वा खुद पुल दरबन्दी कायम भई अन्यत्र स्थानान्तरण गर्नुपर्ने दरबन्दीको हकमा त्यस्तो दरबन्दीको व्यवस्थापन नभएसम्म सरुवा गर्न पाइने छैन ।
रिक्त शिक्षक पदमा सरुवा भई आउन चाहने सम्बन्धित तह र विषयका इच्छुक स्थायी शिक्षकले आफू कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सहमतिसहित विद्युतीय माध्यम वा स्वयम् आफैं उपस्थित भई सम्बन्धित विद्यालयमा निवेदन दिन सक्ने प्रावधान राखिएको छ ।
निवेदन पेस गर्दा आफ्नो सेवा अवधि खुल्ने कागजात, शैक्षिक योग्यता र तालिमका प्रमाणपत्र, हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात, आफ्नो स्थायी तथा अस्थायी नियुक्ति पत्रको प्रतिलिपि र असाधारण तथा वेतलवी बिदा लिए नलिएको सम्बन्धी कागजात, कार्यरत विद्यालयको सहमति पत्र, स्थानीय तहको सहमति पत्र संलग्न गर्नु पर्ने भनिएको छ ।

