काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार दुई तिहाइ बहुमतको अहङ्कारमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् । सरकारको यो कार्यशैलीविरुद्ध आम रूपमा खबरदारी गर्नुपर्ने समय आइसकेको उनको भनाइ छ ।
बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले सरकारका पछिल्ला गतिविधिले देशको संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर संकट निम्त्याउन सक्ने संकेत गरेको टिप्पणी गरे ।
सत्तारुढ दलभित्रै संघीयता खारेज गर्ने खालका दस्तावेजहरू पारित हुन थालेको उल्लेख गर्दै उनले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाए । सरकारका गतिविधि हेर्दा वर्तमान संविधानलाई नै समाप्त पार्ने भित्री प्रयास भइरहेको हो कि भन्ने आशंका बलियो बन्दै गएको उनले बताए ।
प्रधानमन्त्री र सरकारले संसद् तथा सरोकारवालालाई उपेक्षा गर्दै आफूखुसी निर्णय गर्ने प्रवृत्ति बढाएको भन्दै ज्ञवालीले यो लोकतन्त्रका लागि अत्यन्तै खतरनाक हुने चेतावनी दिए । दुई तिहाइको नाममा हुने यस्ता स्वेच्छाचारी कदमलाई रोक्न सबै लोकतान्त्रिक शक्तिहरू समयमै सचेत र एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
"सरकार र प्रधानमन्त्रीमा मनपरी गर्ने सोच हाबी हुँदै गएको देखिन्छ," ज्ञवालीले भने, "यसले मुलुकलाई ‘निर्वाचित तानाशाही’ (इलेक्टेड डिक्टेटरसिप) तर्फ धकेल्ने खतरा रहन्छ, जसले अन्ततः हाम्रो सिङ्गो लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउनेछ ।"
उनले संघीयता खारेज गर्ने विषयहरू सार्वजनिक रूपमा उठाइनुले संविधानप्रतिको न्यूनतम प्रतिबद्धतामाथि नै प्रश्न खडा गरेको स्पष्ट पारे । लोकतन्त्र, वर्तमान संविधान र संघीय व्यवस्थाको रक्षाका लागि देशका सबै राजनीतिक तथा नागरिक शक्तिहरू जिम्मेवार र चनाखो बन्नुपर्ने उनको भनाइ थियो ।



