काठमाडौँ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बदलिँदो समय र परिस्थितिका कारण अब मुलुकका सबै वामपन्थी शक्तिहरू एक हुनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो विचार राखेका हुन्।
उनले लामो समयदेखि फरक–फरक विचार र बाटोमा हिँडेका कम्युनिष्ट घटकहरूले आजकै ऐतिहासिक दिनबाट एकताको ठोस सुरुवात गर्नुपर्नेमा जोड दिए।
हालै सम्पन्न निर्वाचनमा कम्युनिष्टहरूले व्यहोर्नुपरेको लज्जास्पद हारको समीक्षा गर्दै नेता खनालले भने, "यदि हामीले चुनावअघि नै कार्यगत एकता गरेको भए आज संसद्मा कम्युनिष्टहरूको सिट संख्या १०० भन्दा बढी हुने थियो।"
विगतमा नेपाली जनताले कम्युनिष्टहरूलाई झन्डै दुई-तिहाइ बहुमत दिएको स्मरण गर्दै उनले आठ वर्ष पनि नपुग्दै आज पार्टीहरू यो दुर्दशामा आइपुग्नुको कारण नेतृत्वको कमजोरी भएको बताए। सत्तामा रहँदा कम्युनिष्ट सरकारहरूले कृषि क्रान्ति गर्न नसकेको र भूमि सुधार जस्ता आधारभूत कामहरू लागू गर्न नसकेको भन्दै उनले आत्मसमीक्षा गर्नुपर्ने औँल्याए।
नेता खनालले अहिले युग र क्रान्तिको स्वरूप धेरै परिवर्तन भइसकेको भए पनि कम्युनिष्ट नेताहरू अझै पुरानै ढर्रा र कुरामा अलमलिएको आरोप लगाए। सबै कम्युनिष्ट शक्तिहरूलाई एकीकृत गर्दै नयाँ दिशामा अगाडि बढाउन सके मात्र जननेता मदन भण्डारीप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो।



