काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटको आज सुनुवाइ हुँदैछ। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ। उपाध्यक्ष पौडेललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बुधबार उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्।
उक्त रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि उपाध्यक्ष पौडेललाई गत सोमबार सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै मंगलबार विशेष अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन ७ दिनको म्याद थप गरी अनुमति दिएको थियो। सोही म्याद थप र पक्राउ प्रक्रियाका विरुद्ध सर्वोच्चमा यो कानुनी चुनौती दिइएको हो।



