एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १४६–७ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल डिएलएस मेथर्डमा निकालिएको थियो । कोलकाताका आन्द्रे रसेलले १९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । तर त्यो जितको लागि पर्याप्त हुन सकेन ।
साम करनको १५ औं ओभरको पाँचौं बलमा रसेल डिप मिडविकेटमा सिकन्दर राजाबाट क्याच आउट भएपछि जितको सम्भावना टाढिएको थियो । कोलकाताको सुरुवात भने खराब रह्यो । ओपनर मन्दीप सिंह दुइ रनमै क्याच आउट भए । नाथन एलिसले रहमानउल्लाह गुरबाजलाई २२ रनमा बोल्ड गरे । अर्शदीपले अनुकुल रोयलाई ४ राजाबाट क्याच गराएपछि खराब सुरुवात गरेको थियो ।
राणाले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । वेंकटेश ऐरले २८ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा क्याच आउट भए । उनी अर्शदीपको १६ औं ओभरको तेस्रो बलमा प्वाइन्टमा क्याच आउट भएका थिए । पन्जाबका अर्शदीप सिंहले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । साम करन, नाथन एलिस, सिकन्दर राजा र राहुल चाहरले एक एक विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । पन्जाबको जितमा भानुका राजपक्षेले ३२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । कप्तान शिखर धवन २९ बलमा ६ चौकासहित ४० रनमा आउट भए । ओपनर प्रभसिमरन सिंह १२ बलमा २ चौका र २ छक्कासहित २३ रनमा आउट भएका थिए ।
जतिश शर्मा ११ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए । डेब्यु खेल खेलेका सिकन्दर राजा १६ रनमा आउट भए । साम करन १७ बलमा २ छक्कासहित २६ तथा शाहरुख खान ७ बलमा २ चौकासहित ११ रनमा अविजित रहे ।
कोलकातका टिम साउथीले ४ ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । उमेश यादव, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक विकेट लिए । पन्जाबले दोस्रो खेलमा बुधबार राजस्थानसँग खेल्नेछ । कोलकाताले बिहीबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।

