बतास अर्गनाइजेशन र एमएडब्ल्यू इन्टरप्राइजेजबीचको संयुक्त साझेदारीमा सञ्चालित बतास एमएडब्ल्यू कमर्सियल भेहिकलले आफ्नो तेस्रो वार्षिकोत्सव देशभर विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै मनाएको छ।
तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई प्रतिबिम्बित गर्दै कम्पनीले समुदायमा सकारात्मक योगदान पुर्याउने उद्देश्यका साथ विविध सामाजिक अभियानहरू सञ्चालन गरेको जनाएको छ।
यस अवसरमा BMCV ले आयोजना गरेको रक्तदान कार्यक्रममा कर्मचारी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त कार्यक्रममार्फत ५१ युनिट रगत संकलन गरिएको कम्पनीले जनाएको छ। यसले देशको स्वास्थ्य प्रणालीलाई सहयोग पुर्याउनुका साथै आवश्यक परेकाहरूको ज्यान बचाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी, कम्पनीले निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो, जसबाट ८७ जना लाभान्वित भएका छन्। व्यक्तिगत स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्नुका साथै कर्मचारी र स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
पर्यावरणीय जिम्मेवारीलाई प्राथमिकतामा राख्दै BMCV ले देशभर रहेका आफ्ना १४ शाखामार्फत वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ। यस पहलले दिगोपन र वातावरण संरक्षणको सन्देश दिँदै स्वच्छ र स्वस्थ भविष्य निर्माणमा योगदान गर्ने कम्पनीको प्रतिबद्धता झल्काएको छ।
यसै क्रममा कम्पनीले ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले मातातीर्थ वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा सहभागी टोलीले आश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूसँग समय बिताउनुका साथै सँगै भोजन गरेको थियो, जसले सामाजिक सद्भाव र समुदायसँगको सम्बन्ध सुदृढ बनाउन सहयोग पुगेको कम्पनीले जनाएको छ।
तेस्रो वार्षिकोत्सवको अवसरमा BMCV ले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता दोहोर्याउँदै आफ्नो उद्देश्य केवल व्यापारिक सफलतामा सीमित नभई समाजमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेको स्पष्ट पारेको छ।



