विद्युतीय सवारी (इभि) को दुनियाँमा सबैभन्दा ठुलो चुनौती के हो भन्ने प्रश्न सोध्दा धेरैले एउटै उत्तर दिन्छन् - चार्ज गर्न लाग्ने समय। पेट्रोल पम्पमा केही मिनेटमै ट्याङ्की भरिने बानी परेका प्रयोगकर्ताका लागि घण्टौँ कुर्नुपर्ने इभि चार्जिङ अझै पनि असहज अनुभव मानिन्छ। तर चिनियाँ अटोमोबाइल निर्माता बिवाइडीका कारणा अब यो कथा बदलिने सङ्केत देखिएको छ।
बिवाइडीले सार्वजनिक गरेको ‘फ्ल्यास चार्जिङ’ प्रविधिले चार्जिङका लागि लाग्ने समस्यालाई सिधैँ चुनौती दिएको छ। कम्पनीको दाबीअनुसार, यो प्रविधिले करिब ९ मिनेटमै ९७ प्रतिशतसम्म चार्ज गर्न सक्छ । अर्थात्, एक कप कफि पिउने समयसम्म इभि गाडि लामाे यात्राका लागि निस्कन तयार हुनेछ ।
“एक कप कफी पिउने समयमै गाडी ६०० किलोमिटर गुड्न तयार हुन्छ,” विवाइडीको दावी छ । कम्पनीका अनुसार कम समयमा गरिएकाे चार्जिङले गाडि लामाे यात्राका लागि तयार हुनेछ ।
गाडीको मोडेल, ब्याट्री क्षमता, ड्राइभिङ अवस्था र मौसमले गाडि चार्जिङमा लाग्ने समय निर्धारण गर्ने भए पनि चार्जिङ समयलाई १० मिनेटभन्दा तल झार्नु आफैँमा ठूलो उपलब्धि हो।
‘रिफ्युलिङ’ जस्तै अनुभव दिने प्रविधि
इन्धन गाडि प्रयाेग गर्नेहरूका लागि इभि प्रयोगमा बानी बसाउन चार्जिङ समय निर्णायक हुने विश्लेषकहरू बताउँछन्। बिवाइडीको नयाँ प्रविधिले यही अनुभवलाई पेट्रोल–डिजेल भर्ने जत्तिकै सहज बनाउन खोजेको छ।
कम्पनीका अध्यक्ष वाङ चुङ्फू भन्छन्, “हाम्रो ‘फ्ल्यास चार्जिङ’ले परम्परागत सार्वजनिक चार्जिङको तुलनामा १० गुणासम्म पावर उपयोग दक्षता सुधार गरेको छ। यो केवल गति होइन, सम्पूर्ण प्रणालीको पुनःपरिकल्पना हो।”
उनका अनुसार याे केवल मार्केटिङका लागि होइन, प्रविधिगत रूपमै ठूलो फड्को हो। विवाइडीले उच्च–भोल्टेज (८००V+) प्लेटफर्म, उन्नत ब्याट्री संरचना र शक्तिशाली चार्जिङ नेटवर्कलाई एकैसाथ जोडेर यस्तो परिणाम निकालेको हो।
कसरी सम्भव भयो फास्ट चार्जिङ ?
उच्च पावर ट्रान्सफर ‘फ्ल्यास चार्जिङ’को केन्द्र हाे । परम्परागत इभि चार्जिङ प्रणालीहरू सीमित भोल्टेज र करेन्टका कारण ढिलो हुन्छन्। तर, विवाइडीले यो सीमालाई तोड्दै उच्च–भोल्टेज प्रणालीमार्फत अत्यधिक ऊर्जा छोटो समयमा ब्याट्रीमा प्रवाह गर्न सक्षम बनाएको छ।
यसमा उन्नत थर्मल म्यानेजमेन्ट सिस्टम थपिएको छ, जसले चार्जिङको क्रममा उत्पन्न हुने तापलाई नियन्त्रण गर्छ। विशेषगरी चिसो मौसममा ब्याट्री न्यानो हुन समय लाग्छ । गर्मीमा भने अझ छिटो हुनसक्छ किनकि ब्याट्री न्यानो हुन समय चाहिँदैन।
त्यससँगै, ऊर्जा भण्डारण प्रणालीले विशाल पावर बैंकजस्तै काम गर्छ। चार्जिङ स्टेशनहरूमा डाउन–टाइममा बिजुली सञ्चित गरेर आवश्यक समयमा उच्च पावर आपूर्ति गर्न सकिन्छ। यसले विद्युत् ग्रिडमा अचानक पर्ने दबाब पनि घटाउँछ।
कसरी हुँदैछ विश्व बजारमा पूर्वाधार विस्तार ?
यो प्रविधि सफल हुन केवल गाडी पर्याप्त हुँदैन । यसका लागि चार्जिङ नेटवर्क पनि उस्तै शक्तिशाली हुनुपर्छ। बिवाइडीले यही पक्षलाई ध्यान दिँदै चालु वर्षको अन्त्यसम्म २० हजार ‘फ्ल्यास चार्जिङ’ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ।
यस योजनाअनुसार, शहरी क्षेत्रमा हरेक ५ किलोमिटरमा एउटा स्टेशन उपलब्ध हुने कम्पनीकाे भनाइ छ । यसले इभि प्रयोगकर्तालाई ‘रेंज एन्क्जाइटी’ (दूरीको चिन्ता) बाट मुक्त गर्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार हाल चीनमा २ करोड १० लाखभन्दा बढी चार्जिङ पूर्वाधार सञ्चालनमा छन्, जसमा वार्षिक करिब ५० प्रतिशतको दरले वृद्धि भइरहेको छ। यही नेटवर्कले देशभर रहेका ४ करोडभन्दा बढी नयाँ ऊर्जा सवारी साधनलाई समर्थन गरिरहेको छ। बिवाइडीकाे याे विशाल संरचनाले नयाँ प्रविधि छिटो अपनाउन सहयोग पुग्ने देखिन्छ ।
विश्व बजारमा प्रतिस्पर्धा बढाउँदै बिवाइडी
बिवाइडीले ल्याएकाे याे प्रविधिले विश्वभरका अटोमोबाइल कम्पनीहरूलाई दबाबमा पार्ने देखिन्छ। टेस्ला, हुन्डाइ र पाेर्से जस्ता कम्पनीहरू पनि फास्ट चार्जिङ प्रविधिमा प्रतिस्पर्धा गरिरहेका छन् । तर, बिवाइडीको दाबी गरिएको चार्जिङकाे गति उनीहरूका लागि थप चुनौती बन्न सक्छ।
यसले आगामी वर्षहरूमा प्रतिस्पर्धा केवल ‘रेन्ज’ मा होइन, ‘चार्जिङ समय’ मा केन्द्रित हुने देखाउँछ।
बाध्यता नभइ राेजाइ बन्न सक्छ इभि ?
इभि प्रविधि विस्तारसँगै प्रयोगकर्ताको धारणामा पनि परिवर्तन हुँदैछ। वातावरणमैत्री सवारीको रूपमा इभि पहिले नै लोकप्रिय थियाे, तर चार्जिङ समयको समस्याका कारण मानिसहरूलाई इभि स्वीकार्न मुस्किल थियाे ।
बिवाइडीको ‘फ्ल्यास चार्जिङ’ले भने त्यो बाधा हटाउने सङ्केत दिएको छ। यदि कम्पनीको दाबीअनुसार चार्जिङ समय केही मिनेटमै सीमित गर्न सकियो भने, इभि प्रयोग पेट्रोल–डिजेल गाडीभन्दा पनि सजिलो बन्न सक्छ।
बिवाइडीले ल्याएकाे याे प्रविधिले कम्पनीकाे उपलब्धि मात्रै नभइ विश्व यातायात प्रणालीलाई पुनःपरिभाषित गर्ने देखिन्छ । याे प्रविध विश्वभर सहजै उपलब्ध भएमा केही समयपछि इभि गाडी चार्ज गर्न ‘पर्खनु’ पर्ने समय नै इतिहास बन्न सक्छ ।



