एजेन्सी – समिर रिज्वीको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ।
लखनउमा बुधबार भएको खेलमा घरेलु टोली लखनउले पहिले ब्याटिङ गर्दै १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो।
लखनउका लागि अब्दुल समदले सर्वाधिक ३६ रन बनाए। दिल्लीका बलर लुंगी एन्गिडी र टि नटराजनले समान ३ तथा कुलदीप यादवले २ विकेट लिए।
१ सय ४२ रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात भने निकै कमजोर रह्यो। पावरप्लेभित्रै दिल्ली २६ रनमा ४ विकेट गुमाएर दबाबमा पर्यो। लखनउका बलर मोहम्मद शामी, प्रिन्स यादव र मोहसिन खानले बल स्विङ गराउँदै दिल्लीका ब्याटरलाई निकै समस्या दिए।
तर त्यसपछि समिरले खेलको दिशा बदलिदिए। उनले ट्रिस्टन स्टब्ससँग मिलेर पाँचौँ विकेटका लागि अविजित १ सय १९ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए। रिज्वीले ४७ बलमा ५ चौका र ४ छक्कासहित अविजित ७० रन बनाए । स्टब्स ३२ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे।
समिरले विशेषगरी स्पिन बलिङविरुद्ध आक्रामक ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा पारे। उनले १८ औं ओभरको पहिलो बलमै चौका प्रहार गर्दै दिल्लीलाई १७.१ ओभरमा १४५/४ को अवस्थामा जित दिलाए।
दिल्लीका बलरले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। मुकेश कुमारले सुरुवातमा स्विङ गराउँदै दबाब सिर्जना गरेका थिए । एन्गिडीको बलमा निकोलस पुरन बोल्ड भएपछि लखनउको इनिङ्स कमजोर बनेको थियो।
लखनउका कप्तान ऋषभ पन्तले यो खेलमा ओपनिङ गर्ने निर्णय गरेका थिए। उनले राम्रो सुरुवात गरे पनि दुर्भाग्यपूर्ण तरिकाले रनआउट हुँदै छिट्टै पेभिलियन फर्किए।
अब दिल्लीले अप्रिल ४ मा मुम्बई इन्डियन्ससँग खेल्नेछ भने लखनउ सुपर जायन्ट्सले अप्रिल ५ मा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ।



