पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौँ प्रतियोगिता तथा २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् ।
बिहीबार ३–अन्डर ६६ खेलेका उनले समग्रमा ३–अन्डर १३५ को स्कोरमा शुक्रबहादुर राईलाई एक स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६७ खेल्दै समग्रमा २–अन्डर १३६ सहित शुक्र दोस्रो स्थानमा झरे ।
१–ओभर ७० को स्कोर बनाएका जयराम श्रेष्ठ समग्रमा १–ओभर १३९ सहित तेस्रो स्थानमा झरेका छन् । समग्रमा २–ओभर १४० को स्कोरमा सञ्जय लामा चौथो स्थानमा उक्लिए । उनले लगातार दोस्रो दिन १–ओभर ७० को कार्ड बनाए । पहिलो दिनका संयुक्त लिडर भुबहादुर गुरुङले आज ५–ओभर ७४ को प्रदर्शन गरे । समग्रमा ५–ओभर १४३ सहित घरेलु प्रो भुबहादुर पाँचौँ स्थानमा झरे ।
समग्रमा ६–ओभर १४४ स्कोर खडा गरेका रमेश अधिकारीले दोस्रो दिनको खेल ४–ओभर ७३ मा सकाए । उनी छैटौँ स्थानमा रहे । समग्रमा ७–ओभर १४५ को स्कोरका साथ सुरेश तामाङ र भुवन कुमार रोक्काले सातौँ स्थान बाँडे ।
सुरेशले २–ओभर ७१ र भुवनले ४–ओभर ७३ खेले । आज ४–ओभर ७३ स्कोर बनाएका रवि खड्का समग्रमा ८–ओभर १४६ सहित नवौँ तथा समग्रमा ९–ओभर १४७ सहित नेपाल नम्बर एक गल्फर निरज तामाङ दशौँ स्थानमा रहेका छन् । निरजले आज ४–ओभर ७३ को प्रदर्शन गरे ।
यसअघि लगातार दुई प्रतियोगिता जितेका भुवनले शीर्षस्थानमा एकल अग्रता बनाउने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । उनले तेस्रो, चौथो, पाँचौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गरे । ५–पारको छैटौँ होलमा डबल बोगी खेपे । यसपछि १०औँ र १३औँ होलमा एक–एक सट बचाउँदा ११औँ होलको बोगीले ब्याक नाइन १–अन्डर ३४ मा पूरा गरे ।
शुक्रले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौँ होलमा बोगी खेपे । दोस्रो र छैटौँ होलमा एक–एक सट बचाए । यसपछि ब्याक नाइनमा सम्हालिँदै ३–अन्डर ३२ को स्कोर निकाले । उनले १०औँ, १५औँ र १७औँ होलमा बर्डीको सफलता प्राप्त गरे ।
जयरामले तेस्रो होलको बर्डीका विरुद्ध दोस्रो र चौथो होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १–ओभर ३५ खेले । यसपछि १०औँ होलमा बर्डी र १८औँ होलको बोगीले ब्याक नाइन इभन–पार ३५ मा सकाए ।
एमेच्योरतर्फ राहुल विश्वकर्मा ८ स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । उनले आज ३–ओभर ७२ सहित समग्रमा ३–ओभर १४१ को स्कोर निकाले । पहिलो दिन संयुक्त रूपमा शीर्षस्थानमा रहेका राहुल समग्रमा भने पाँचौँ स्थानमा झरे । किशन परियारले ३–ओभर ७२ मा दोस्रो दिनको खेल सकाए । उनले समग्रमा ११–ओभर १४९ स्कोर जोडे । एमेच्योरतर्फ यी दुईले मात्र कट बनाए ।
समग्रमा १२–ओभर १५० स्कोरमा कट लागु हुँदा १८ प्रो र २ एमेच्योर गरी २० जनाले अन्तिम दिनको लागी स्थान सुरक्षित गरे । प्रोतर्फ तोरणविक्रम शाही, रामे मगर, वसन्तराज गुरुङ, प्रदीपकुमार लामा, सुमन परियार, शिवकुमार माझी, दिनेश प्रजापति र दिपक मगरले कट बनाए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ ।
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले एक लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः एक लाख २५ हजार र एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

