काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा उक्लन सफल भएका छन् । ४–अन्डर ६४ सहित समग्रमा ६–अन्डर १९८ को स्कोरमा भुवन शीर्षस्थानमा उक्लिएका हुन् । उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारे ।
दिनेशले बिहीबार ४–अन्डर ६४ खेल्दै समग्रमा ५–अन्डर १९९ सहित दोस्रो स्थानमा उक्लिए । रामे मगरले समग्रमा ४–अन्डर २०० स्कोर बनाउने क्रममा आज १–अन्डर ६७ को स्कोर कार्ड बनाए । उनी एक स्थान तल झरे । समग्रमा ३–अन्डर २०१ सहित सञ्जय लामा र लगातार दुई दिनका लिडर रवि खड्काले चौथो स्थान बाँडे । सञ्जयले २–अन्डर ६६ स्कोर गरे । रविले आज २–ओभर ७० को प्रदर्शन गर्दा चौथो स्थानमा तल झरे ।
नेपाल नम्बर एक नीरज तामाङले रोयल नेपाल गल्फ क्लबको कोर्स रेकर्ड बराबरी गरे । उनले बिहीबार ८–अन्डर ६० को सानदार प्रदर्शन गरे । इगलबाट दिनको सुरुआत गरेका उनले तेस्रो, चौथो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरे । उनले बोगी रहित ६–अन्डर २८ मा फ्रन्ट नाइन सकाए । ११औँ होलमा एक सट खेर फाले । १२औँ, १३औँ र १८औँ होलमा बर्डी प्रहार गरे । ब्याक नाइन २–अन्डर ३२ मा सकाए । यसअघि शिवराम श्रेष्ठ र निरजले यो कोर्समा ८–अन्डर खेलेका थिए ।
समग्रमा ३–ओभर २०७ को स्कोरमा टंकबहादुर कार्की र जयराम श्रेष्ठले सातौँ स्थान बाँडे । टंकले ६–अन्डर ६२ को उत्कृष्ट प्रदर्शन गर्दा जयरामले १–ओभर ६९ मा दिनको खेल सकाए । धनबहादुर थापा र तोरणविक्रम शाही समग्रमा ५–ओभर २०९ सहित संयुक्त रूपमा नवौँ स्थानमा रहे । धनले २–अन्डर ६६ र तोरणले १–ओभर ६९ को नतिजामा आजको खेल सकाए ।
एमेच्योरतर्फ महेन्द्र फगामी र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा समग्रमा ३–ओभर २०७ सहित संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । महेन्द्रले इभन–पार ६८ र राहुलले लगातार तेस्रो दिन १–ओभर ६९ को प्रदर्शन गरे । उनीहरूले युवा गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारे । स्वप्निलले १–अन्डर ६७ खेल्दै समग्रमा ५–ओभर २०९ सहित तेस्रो स्थानमा छन् ।
भुवनले बोगीरहित उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पहिलो र सातौँ होलमा एक–एक सट बचाए । यसपछि १०औँ र १८औँ होलमा पनि बर्डी प्रहार गरे । उनले फ्रन्ट र ब्याक नाइन समान २–अन्डर ३२ खेले ।
दिनेशले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए । पहिलो, दोस्रो, चौथो, पाँचौँ र आठौँ होलमा बर्डीको सफलता प्राप्त गरे । छैटौँ र नवौँ होलमा एक–एक सट खेर फाले । यसपछि १०औँ, ११औँ र १३औँ होलमा बर्डी प्रहार गरे भने १५औँ र १६औँ होलमा बोगी खेपे । ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
भेट्रान गल्फर रामेले पाँचौँ होलमा बर्डी प्रहार गर्दा बाँकी होलमा पार जोगाएसँगै फ्रन्ट नाइम १–अन्डर ३३ मा सकाए । १३औँ र १८औँ होलमा बर्डी प्रहार गरे भने ११औँ र १६औँ होलमा बोगी खेल्दा ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
चार दिनसम्म चल्ने ७२ होलको यो प्रतियोगितामा उपाधिका लागि ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका छन् । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए)द्वारा आयोजित प्रतियोगिताको पुरस्कार राशी कुल आठ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
विजेताले उपाधिसँगै एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले एक लाख पाँच हजार र तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । यस्तै, चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार हात पार्नेछन् । शीर्ष १८ स्थानसम्म रहने प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

