२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै


सञ्चार डबली
  • मंगलबार, माघ २० २०८२
  • 4.1K
    SHARES

  • मुम्बईपछि चेन्नई पुगेको नेपाली टोली आज यूएईसँग अभ्यास खेल खेल्दै

    काठमाडौं । आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। नेपालले विश्वकपअघि चेन्नईमा दुई वटा ‘वाम–अप’ खेल खेल्दै अन्तिम तयारी गर्नेछ।

    नेपालले पहिलो अभ्यास खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक खेल हुँदै आएका छन्।

    यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्नेछ। दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग गर्ने अपेक्षा गरिएको छ।

    नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।

    नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ । नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेको छ भने यससँगै भारतीय मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति र उत्साह देखिनेछ ।नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। यो तेस्रो विश्वकप सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ।

    विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

    यस विश्वकपमा समूह ‘ए’ मा भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend