काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि ड्राइभिङ रेञ्ज वृद्धि गर्ने उद्देश्यसहित ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) अपडेट सार्वजनिक गरेको छ । कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई निःशुल्क सफ्टवेयर अपडेट गराउन आग्रह गरेको छ ।
नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखी तयार गरिएको यस बीएमएस अपडेटमार्फत ब्याट्रीको कार्यक्षमता थप अप्टिमाइज गरिएको छ । अपडेटपछि क्रेटा ईभीको रेञ्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने हुन्डाई नेपालको दाबी छ ।
नयाँ अपडेटले दैनिक आवागमन तथा लामो यात्रामा प्रयोगकर्तालाई थप सहजता, सुविधा र भरोसा प्रदान गर्ने विश्वास लिइएको छ । यसले क्रेटा ईभीलाई अझ व्यवहारिक र भरपर्दो विद्युतीय सवारीका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ ।
उक्त बीएमएस अपडेट हुन्डाई नेपालको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसका कारण सबै क्रेटा ईभी ग्राहकहरूले सजिलै यसको लाभ लिन सक्नेछन् । हुन्डाई नेपाल निरन्तर रूपमा आफ्ना सवारी साधनको स्तरोन्नति गर्दै ग्राहक सन्तुष्टि बढाउन प्रतिबद्ध रहँदै आएको छ ।


