कास्की । पोखरामा शनिबार (माघ १७)देखि सुरु साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा भारतसँग नेपाल १–० ले पराजित भएको छ ।
पोखरा रंगशाालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोेस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।
नेपाल एक गोलले पछि परेपछि खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन । घरेलु टोलीलाई निराश बनाएको भारत आफ्नो पहिलो खेलमा तीन अंक जोड्न सफल भएको छ । नेपालले अब भुटानसँग सोमबार (माघ १९) दोस्रो खेल खेल्नेछ ।
बंगलादेश १२–० भुटान
शनिबारै सम्पन्न पहिलो खेलमा बंगलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराएको थियो । बगलादेशले पहिलो हाफमा चार गोल गरेको थियो । दोस्रो हाफमा थप आठ गोल गर्न सफल भयो ।
बंगलादेशकी मोस्ट मुन्की अख्तरले चार तथा श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक गरे । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरे ।
प्रतियोगितामा चार टोलीले भाग लिएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन गरिएको छ । प्रत्येक टोलीले अरूसँग एक/एक खेल खेल्नेछन् । लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछन् । रासस

