काठमाण्डौ । खेलकुद विकास र युवा सशक्तिकरणमा निरन्तर योगदान दिँदै एनसेलले पोखरामा भोलि शुक्रबारदेखि सुरु हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।
टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता हो। गत वर्ष पनि एनसेल मुख्य प्रायोजक रहेको थियो। यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गर्दै प्रतियोगितामा साथ दिएको हो।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “टाइगर कपसँगको सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति हाम्रो गहिरो प्रतिबद्धता झल्काउँछ। यसले भलिबल खेलको प्रवद्र्धनमा योगदान पुर्याउने मात्र होइन, स्थानीय युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
प्रतियोगिता माघ १७ गतेसम्म पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ। आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले एनसेलको निरन्तर सहकार्यप्रति आभार व्यक्त गर्दै यस सहयोगले टाइगर कपलाई देशकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता बनाउन मद्दत गरेको बताए।
यस वर्ष महिला तर्फ ५ टोली र पुरुष तर्फ ६ टोली गरी कुल ११ टोली प्रतिस्पर्धामा उत्रिएका छन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स सहभागी छन्। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स प्रतिस्पर्धामा छन्।
विजेता हुने दुवै महिला तथा पुरुष टोलीले समान पुरस्कार प्राप्त गर्नेछन् — प्रथम पुरस्कार रु ६,६६,६६६, दोस्रो पुरस्कार रु ३,६६,६६६ र तृतीय पुरस्कार रु २,०६,६६६।

