काठमाडौँ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइडमा आयोजना हुँदै आएको देशकै सबैभन्दा ठूलो सडक उत्सव पोखरा सडक महोत्सव २७औँ संस्करणको संघारमा पुगेको छ ।
रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म फेवाताल किनारको लेकसाइड क्षेत्रमा करिब साढे तीन किलोमिटर सडक खण्डमा २७औँ सडक महोत्सव हुन लागेको हो । रेवानले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरेको यस महोत्सवले विगत २६ वर्षदेखि निरन्तर गर्दै आएको छ ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवले खाना, संस्कृति र संगीतको प्रवर्धनमार्फत पोखराको मात्र नभइ समग्र नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिँदै आएको रेवानले जनाएको छ।
महोत्सवको ऐतिहासिक महत्व
“कुनै समय अंग्रेजी नयाँ वर्ष मनाउन भारतीय सहर गोवा वा थाइल्याण्ड जाने परम्परा प्रचलित थियो । तर, पोखरा सडक महोत्सवले त्यो प्रवृत्तिलाई तोड्दै पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य” (Destination for English New Year) का रूपमा स्थापित गर्न सफल भएको छ,। संयोजक वसन्त गौतमले भने, “यो महोत्सव एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ब्रान्ड र गौरवमय इतिहासको अभिन्न अंग बनिसकेको छ ।”
साढे दुई दशकभन्दा लामो यात्रामा राजनीतिक अस्थिरता, आन्दोलन, २०७२ सालको विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला सामाजिक आन्दोलनजस्ता चुनौतीबीच पनि महोत्सवले निरन्तरता पाएको छ ।
यस्ता विषम परिस्थितिमा पर्यटन क्षेत्रको पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वसामु पुर्याउन पोखरा सडक महोत्सवले सञ्जीवनीको भूमिका खेलेको गौतमले जनाए ।
प्रवद्र्धन र आर्थिक आयाम
“पोखरा आफैंमा प्राकृतिक र सांस्कृतिक रूपमा एक खुला संग्रहालय (Open Museum) जस्तै सहर भएकाले सडक महोत्सवले यही पहिचानलाई थप स्थापित गर्दै पर्यटन र अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास छ,” उनले भने, “विशेषतः जाडोयाममा सुस्ताउने पर्यटनलाई चलायमान बनाउँदै ‘बाह्रै महिना पोखरा’को सन्देश अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न महोत्सवले योगदान पुर्याउँदै आएको छ ।”
महोत्सवले पोखरा तथा आसपासका गाउँमा उत्पादन हुने कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शन तथा बिक्रीको अवसर प्रदान गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई पनि चलायमान बनाउने रेवानले जनाएको छ । क्रिसमस र नयाँ वर्षका अवसरमा विदेशी पर्यटकलाई नेपालमै रमाउने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष सहयोग पुग्ने आयोजकको भनाइ छ ।
महोत्सवका प्रमुख आकर्षण अन्तर्गत
महोत्सवका प्रमुख आकर्षण तथा विशेषताहरु
● नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभूषा र परम्परागत नृत्यहरूको प्रदर्शन ।
● ‘सडकमै खाऔँ’ भन्ने नारालाई सार्थक बनाउँदै सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय (Street Food) को प्रत्यक्ष स्वाद लिन पाइने ।
● नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट र मौलिक लोकदोहोरी प्रस्तुती ।
● फेवातालमा बोट रेस, बेटर रेस, टग अफ वार (Tug of War) र पर्यटक लक्षित खेल गतिविधिहरू ।
● पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरुसँग टक शो, पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी ।
महोत्सवका मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ । सह–प्रायोजकमा बोटलर्स नेपाल (तराई) लि., दि नेपाल डिस्टिलरी प्रा.लि., यति डिस्टिलरी प्रा.लि., नेपाल टेलिकम र जेडवाईएन छन् । बैंकिङ पार्टनर सिद्धार्थ बैंक लि. रहेको छ । गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् तथा पोखरा भ्रमण वर्ष २०२५ प्रबर्धकका रूपमा छन् ।

