काठमाडौँ । टियागो इभी अन्तर–विद्यालय चित्रकला प्रतियोगिता ‘कार्टनिभल’ अन्तर्गत प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ।
सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
प्रतियोगिता कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ गरी दुई समूहमा आयोजना गरिएको थियो। कक्षा ५ देखि ८ समूहतर्फ त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम हुन सफल भए भने कक्षा ९ देखि १२ समूहतर्फ बुढानिलकण्ठ स्कुलकी समय्या थापा प्रथम घोषित भइन्। दुवै समूहका प्रथम विजेताहरूलाई पुरस्कार स्वरूप प्लेस्टेशन–५ प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणअन्तर्गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण समारोह आयोजना गरिएको हो।
कक्षा ५ देखि ८ समूहमा काठमाडौँ युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो र त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थानमा रहन सफल भएका छन्।
यसैगरी कक्षा ९ देखि १२ समूहतर्फ बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन्।
कार्यक्रममा बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रा।लि।का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, शिक्षक, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



