काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ओपनर दीनेश अधिकारीको आक्रामक ब्याटिङको बलमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि जितेको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो।
सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेतामा सीमित रह्यो। यसअघि पहिलो संस्करणको फाइनलमा उनीहरू जनकपुर बोल्ट्ससँग पाँच विकेटले हारेका थिए।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरमै चार विकेट गुमाएर भेट्टायो।
लुम्बिनीका दीनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए। पहिलो ओभरमै दीपेन्द्रसिंह ऐरीलाई चार छक्कासहित २७ रन प्रहार गर्दै उनले टोलीलाई धमाकेदार सुरुआत दिलाए। १३ बलमा उनले पाँच छक्का र एक चौका प्रहार गर्दै ३२३ को स्ट्राइकरेट हासिल गरे।
डार्सी शर्टले १४ रन, कप्तान रोहित पौडेलले १६ रन, निरोशान डिकवेलाले ११ रन जोडे। सन्दीप जोरा शून्यमा आउट भए भने दीलिप नाथ एक रनमा अविजित रहे।
सुदूरपश्चिमतर्फ हर्मित सिंहले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमलाई लुम्बिनीले १९.१ ओभरमै ८५ रनमा समेटेको थियो। कप्तान रोहित पौडेलले ११औँ ओभरमा लगातार तीन विकेट लिएर ह्याट्रिक पूरा गरे। उनले दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पेलमनबाट, दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराए भने पुनित मेहरालाई एलबीडब्लू गरे।
एनपीएलमा यो दोस्रो ह्याट्रिक हो। यसअघि विराटनगर किंग्सका साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक गरेका थिए। रोहितले चार ओभरमा १२ रन मात्र खर्चेर तीन विकेट लिए, उनको इकोनोमी रेट ३.०० रह्यो।
शेर मल्ल र रुबेन ट्रम्पेलमनले पनि तीन–तीन विकेट हात पारे। शेरले चार ओभरमा १८ रन खर्चे भने ट्रम्पेलमनले २.१ ओभरमा तीन रन मात्र खर्चे। तिलक भण्डारीले एक विकेट लिए।
सुदूरपश्चिमतर्फ इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। उनले ५१ बलमा एक चौका प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन, हर्मित सिंह र स्कट कुग्गेलिनले समान १०–१० रन जोडे। अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
विनोद भण्डारी ‘डक’ भए भने दीपक बोहरा र पुनित मेहरा ‘गोल्डेन डक’मा आउट भए। सेल्डन ज्याक्सनले एक रन र आरिफ सेखले ६ रन बनाए।
लुम्बिनीले लिग चरणमा चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो। इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई चार विकेटले हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो। सुदूरपश्चिम भने लिग चरणमा शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो र पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराएको थियो।

