काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले अनुभवी भारतीय प्रशिक्षक रोबिन सिंहलाई टिमका मेन्टरमा नियुक्त गरेको छ। मंसिर १ देखि २७ गतेसम्म हुने एनपीएलमा सिंहको साथले लुम्बिनी लायन्सले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।
६२ वर्षीय सिंहसँग दुई दशकभन्दा बढीको प्रशिक्षण अनुभव छ। उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालेका थिए। त्यसैगरी उनले संयुक्त अरब इमिरेट्स (यूएई)को राष्ट्रिय टिमको मुख्य प्रशिक्षक र क्रिकेट निर्देशकको रूपमा समेत काम गरेका थिए।
सन् २००४ मा हङकङको टिम प्रशिक्षक बनेका सिंहले एसिया कपमा हङकङलाई छनोट गराउन सफल भएका थिए। त्यसपछि उनले भारत यू-१९, भारत ए र भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रूपमा काम गरेका थिए।
सिंहले सन् २००८ मा आईपीएलको पहिलो संस्करणमा डेक्कन चार्जर्सको टिम सम्हालेका थिए भने सन् २०१० मा मुम्बई इन्डियन्सका मुख्य प्रशिक्षक बनेका थिए। तीन सिजनसम्म मुम्बईसँग रहेर उनले टिमलाई बलियो बनाएका थिए। पछि उनी मुम्बई इन्डियन्सको कोचिङ संरचनामा निरन्तर आबद्ध रहे।
उनकै प्रशिक्षणमा यूएईले सन् २०२२ मा अष्ट्रेलियामा भएको आईसीसी टी–२० विश्वकप खेल्न सफल भएको थियो। पछिल्लो समय उनले एमआई इमिरेट्स टिमलाई इन्टरनेशनल लिग टी–२० मा च्याम्पियन बनाएका थिए।
खेलाडीका रूपमा पनि सिंहले भारतका लागि एक टेस्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले २,००० भन्दा बढी रनसहित ६९ विकेट लिएका थिए।
लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले रोबिन सिंहको आगमनले टिम मात्र होइन, समग्र नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताएका छन्।
उनले भने, “विश्वस्तरीय खेलाडी र प्रशिक्षक रोबिन सिंहको अनुभवले नेपाली खेलाडीहरूलाई प्रेरणा दिनेछ। उहाँको रणनीति र दृष्टिकोणले हाम्रो टिमलाई सफलताको नयाँ उचाइमा पुर्याउनेछ।”
मेन्टर बनेका सिंहले पनि लुम्बिनी टिमसँग जोडिन पाउँदा खुशी व्यक्त गरे।
“नेपालमा क्रिकेट तीव्र गतिमा अघि बढिरहेको छ। लुम्बिनी लायन्ससँग काम गर्दै युवा खेलाडीहरूसँग आफ्नो अनुभव बाँड्न उत्साहित छु। हामी यो सिजनलाई नेपाली क्रिकेटका लागि अविस्मरणीय बनाउन चाहन्छौँ,” सिंहले भने।
लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली कप्तान रोहित कुमार पौडेल हुन्। टिमले हालसम्म विदेशी खेलाडीमा अष्ट्रेलियन डार्सी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ। अन्य विदेशी खेलाडीको घोषणा चाँडै हुने लुम्बिनीले जनाएको छ।

