काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।
खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल त्यहीँ छाडेर जाने बताएका छन् । ‘अब यो मेडल एन्फाले आफै आएर लाओस् । हामीले यही छाडेर जान्छौं,’ लामाले भनेका छन् ।
पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ । एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ ।
धर्नाको विषयमा खेलाडी संघको भनाइ छ, हामी नेपाल फुटबल खेलाडी संघले पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरूदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग आयोजना गर्न नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)सँग चरणबद्ध रूपमा विभिन्न स्तरमा प्रयास गर्दै आएका थियौं। तर हाम्रो शालीनतालाई बेवास्ता गरेर एन्फाले पुनस् एकपटक लिग स्थगन गर्ने निर्णय गरेपछि हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौं। खेलाडी भएपछि हामीले सधैं मैदानमा नै व्यस्त हुनुपर्छ भन्ने मान्यता राख्छौं, तर पटक पटकको हाम्रो प्रयासलाई बेवास्ता गरिएपछि हामीसँग सडकमा आउनुको विकल्प नरहेको महसुस गरेका छौं।



