२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह


सञ्चार डबली
  • शनिबार, कात्तिक १५ २०८२
  • 6.5K
    SHARES

  • आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, अत्यावश्यक नभइ बाहिर ननिस्कन आग्रह

    काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अझै यो वर्षाले केही समय निरन्तरता पाउने जल तथा मौसम विज्ञान विभागको भनाइ छ । 

    ‘मोन्था’सँगै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको असर रहेकाले वर्षा भइरहेको मौसमविद् गोविन्द झा बताउँछन् । उनका अनुसार आज तुलनात्मक रूपमा कोसी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुनेछ । 

    “आज कोसी प्रदेशमा बढी वर्षा हुनेछ । वाग्मती, मधेस र गण्डकीमा मध्यम वर्षा हुनेछ,” मौसमविद् झा भन्छन्, “कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।” 

    बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै जाने र क्रमशः मौसम सुधार हुँदै जाने उनको भनाइ छ । “आज साँझबाट अथवा भोलिबाट नै मौसममा पूरै सुधार हुन्छ र पानी पर्न रोकिएर वर्षा हुन सतप्रतिशत रोकिन्छ भन्ने होइन,” मौसमविद् झा अगाडि थप्छन्, “मोन्थासँगै न्यूनचापीय प्रणालीले पनि जलवाष्पयुक्त हावा फालिरहेकाले पानी परिरहेको छ ।”

    मोन्था र न्यून चापीय प्रणालीको प्रभाव कम हुँदै गएपछि त्यसकै अनुपातमा मौसममा पनि क्रमिक सुधार हुने उनी प्रष्ट पार्छन् । 

    काठमाडौंमा आज पनि वर्षा हुने उनको भनाइ छ । “काठमाडौंमा आज पनि वर्षा हुनेछ । अपराह्नपछि केही कम भने हुनेछ,” मौसमविद् झा भन्छन्, “हिजोको जस्तो आज काठमाडौंमा वर्षा हुने छैन । तर, वर्षा भने हुन्छ । अपराह्नपछि केही कम हुन्छ । केही समय पानी पर्ने, रोकिने र फेरि पर्ने हुन्छ ।” 

    काठमाडौंलगायत स्थानमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव परेको छ, जसका कारण वर्षा भइरहेको उनले जानकारी दिए । 

    भोलिबाट भने काठमाडौंमा मौसम केही सफा हुने उनी बताउँछन् । “भोलि भने काठमाडौंमा वर्षाको सम्भावना देखिँदैन,” मौसमविद् झाले भने, “अहिलेसम्म हेर्दा भोलि काठमाडौंमा वर्षा हुने देखिँदैन । तर, मौसम हो, विभिन्न प्रणाली विकास हुने र जाने भइरहन्छ । त्यसैले यकिन गरेर भन्न भने सकिँदैन ।” 

    आज दिउँसो कोसी प्रदेशका केही स्थानहरूमा वर्षा हुँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।  

    बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण बिहीबारदेखि देशका धेरै स्थानमा मौसम बदली भइ वर्षा भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend