२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

हिमपातको प्रभावः ‘हिडन भ्याली’मा १५ जना पर्यटक समस्यामा, हिमपातमा फसेका १५ सयको सेनाद्वारा उद्धार, जोमसोममा शून्य डिग्री सेल्सियसस


सञ्चार डबली
  • बुधबार, कात्तिक १२ २०८२
  • 8.7K
    SHARES

  • हिमपातको प्रभावः ‘हिडन भ्याली’मा १५ जना पर्यटक समस्यामा, हिमपातमा फसेका १५ सयको सेनाद्वारा उद्धार, जोमसोममा शून्य डिग्री सेल्सियसस

    काठमाडौं ।  निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन  बेलायती महिला  र १२ जना स्वदेशी पर्यटक रहेका छन् । 

    म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातीदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२  नेपाली र तीन जना बेलायती पर्यटकहरू सो भ्यालीमा रोकिएका हुन् । 

    ‘काठमाडौँको सेक्रेट हिमालय ट्रेड एन्ड एक्पिडिसन ट्राभल एजेन्सी मार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मङ्गलवार साँझ सम्बन्धित कम्पनी मार्फत हेलिकप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए ।धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरू सुरक्षित रहेका छन् । 

    म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय मार्फत उद्धार टोली पठाउने प्रयास गरे पनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ । हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाई मार्गबाट हिडन भ्याली पुग्न सकिन्छ ।   

    उनीहरू रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एन्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे,क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् । 

    पथप्रदर्शकले स्याटेलाइट फोन मार्फत उद्धारको अनुरोध गरेका व्यवस्थापक लामाले बताए । हिमपात रोकिएर मौसम सफा भएमा हेलिकप्टर पुग्न सक्ने र हिउँ पग्लिएर बाटो पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिँड्न सक्छन् । त्यहाँ मोबाइल र इन्टरनेट सेवाको पहुँच छैन  । 

    त्यसैगरी हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार  गरिएको सैनिक मुख्यालयले बताएको छ ।

    मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा लगिएको सेनाले बताएको छ ।


      हाल देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जोमसोममा शून्य डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने सबैभन्दा बढी तापक्रम विराटनगरमा ३१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend