काठमाडौँ । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको चुचुरोमा पुगेका चार जना शेर्पाहरूको टोलीले शनिबार ‘रोप फिक्सिङ’ (डोरी तानेका) जानकारी दिए ।
सङ्खुवासभाको मकालु गाउँपालिका–१ का टासी शेर्पा, लाक्पा टेम्बा शेर्पा, सोही पालिकाको वडा नं २ का पुर्वा कुसाङ शेर्पा र पासाङ नोर्वु शेर्पाको टोलीले बाटो बनाउने र डोरी तान्नुका साथै चालु शरदयाममा धवलागिरिको सफल आरोहण गर्ने पहिलो टोली भएका छन् ।
शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन् । मौसम अनुकूल र अन्य समस्या नभएमा एकदुई दिनभित्र आरोहण टोली धवलागिरिको चुचुरोमा पुग्ने शेर्पाहरूले जनाएका छन् ।



