सोमबार, असार १८, २०८०
काठमाडौं – नेपालले एसिसी यू१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भयो ।
नेपालका तीव्र गतिका बलर अभिषेक तिवारीको पहिलो ओभरको अन्तिम बलमा प्रमुख ब्याटर श्रेयान चयौं २ रनमा क्याच आउट भएका थिए । उनी सर्ट बलमा टप एज लागेर दिपु कुमारबाट समातिन पुगे । दोस्रो विकेटका लागि रोशन रविचन्द्रन र राहिल थकरले ३३ रनको साझेदारी गरेका थिए । रोशन ३७ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा आउट भए । रोशन आउट भएपछि भने सिंगापुरले पुन संघर्ष गरेको थियो । राहिल पनि ३१ बल खेल्दै ७ रनमा आउट भए । एसलान जाफ्री ३ रनमा अशोक धामीको बलमा बोल्ड आउट भए । कबिर ११, रैनक नैक र हरिहरन ५–५ रनमा आउट भए ।
त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए । सूर्यांशु हर्ष वेंकटरामको बलमा रियान नैकबाट क्याच आउट हुन पुगे । उनले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए ।
विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुगे । नरेन भट्ट तीन रनमा हरिहरनको बलमा कट एण्ड बोल्ड आउट भएपछि नेपाल ८६-३ को अवस्थामा पुगेको थियो । हरिहरनले निरज कुमारलाई ४२ रनमा क्याच गराए । मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८, प्रतिक भट्टराई १२ र अशोक धामी डक आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । दीपु कुमार १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनमा आउट भए ।
मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराएको थियो ।



