२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

किसान महासंघको चेतावनी : चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ


सञ्चार डबली
  • आइतबार, असार १ २०८२
  • 5.2K
    SHARES

  • images
    किसान महासंघको चेतावनी : चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ

    काठमाडौँ, असार १ । मुलुकको कृषि प्रणालीमा देखिएको लापरवाही, किसानका समस्याप्रति राज्यको उदासीनता र समर्थन मूल्यको अवमूल्यनविरुद्ध नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई तत्काल समाधानको माग गरेका छन् ।

    पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले चैते धान, उखु, दूध, सुपारी र रासायनिक मलसम्बन्धी समस्याहरू उठाउँदै सरकारको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाए ।

    चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रूपैयाँ तोकिए पनि किसानले बजारमा सरदर प्रतिक्विन्टल १६२५ रूपैयाँमै धान बिक्री गर्न बाध्य भएको महासंघको आरोप छ । धान सड्ने र कुहिने अवस्थामा पुगेको भन्दै किसानहरू आन्दोलनमा उत्रिएको तर सरकार र प्रशासनले चासो नदिएको जनाइएको छ ।

    “राज्यले चैते धानमा आत्मनिर्भर बन्ने नीति त ल्यायो, तर समर्थन मूल्यमा धान खरिद गर्ने प्रतिबद्धता पूरा गरेन,” विज्ञप्तिमा भनिएको छ, “किसानलाई निराश बनाउने सरकारको गैरजिम्मेवार रवैयाको हामी घोर निन्दा गर्छौँ ।”

    १० बुँदे माग सार्वजनिक

    पत्रकार सम्मेलनमा महासंघले सरकारसँग १० बुँदे माग सार्वजनिक गरेको छ, जसमा तत्काल अस्थायी संरचना निर्माण गरी चैते धान खरिद गर्नुपर्ने, कम मूल्यमा बिक्री भएको धानको समर्थन मूल्य बराबरको क्षतिपूर्ति दिनुपर्ने, प्रत्येक वडामा धान भण्डारण र सुकाउने उपकरणयुक्त गोदाम स्थापना गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

    यस्तै, उखु उत्पादक किसानलाई करिब १ अर्ब ६० करोड रूपैयाँ अनुदान यथाशीघ्र भुक्तानी गर्नुपर्ने, दुग्ध किसानको वक्यौता रकम तुरून्त उपलब्ध गराइनुपर्ने, मलको सुनिश्चित आपूर्ति र सुपारी बिक्री तथा निर्यातका समस्या समाधान गर्नुपर्ने माग राखिएको छ ।

    कृषि ऐनमा किसानको हक सुनिश्चित गरियोस्

    महासंघले सरकारलाई तयार भइरहेका कृषि विधेयकमा किसानको सहभागिता, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यमा विशेष व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, किसान अधिकारलाई छुट्टै परिच्छेदमा उल्लेख गरी कानून निर्माण गर्न माग गरिएको छ ।

    प्राकृतिक विपत्तिबाट किसानको संरक्षण माग

    वर्षायामसँगै बाढी, पहिरो, डुबान र चट्याङ् जस्ता विपत्तिबाट किसानको जीविकोपार्जन तहसनहस हुने खतरा रहेको उल्लेख गर्दै महासंघले सरकारलाई पूर्वतयारी र क्षतिपूर्तिको व्यवस्था मिलाउन चेतावनी दिएको छ । किसान महासंघले आफ्ना मागहरू सुनुवाइ नभए आगामी दिनमा आन्दोलन चर्काउने चेतावनी पनि दिएको छ ।

    पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै महासंघले किसानका आवाजलाई सञ्चारमाध्यममार्फत् दबाब सिर्जना गर्न अनुरोधसमेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend