काठमाडौँ, जेठ २८ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने नेपाल मोबिलिटी एस्क्पोको स्टल बाँडफाँट गरिएको छ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि पहिलो संस्करणको स्टल बाँडफाँट कार्यक्रम संस्थाको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न भएको छ। नाइमाले भृकुटीमण्डपमा आगामी साउन २१ देखि २५ सम्म ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको हो।
मोबिलिटी एक्स्पोमा दुईपांग्रे, चारपांग्रे तथा हलुका व्यावसायिक सवारी साधन एउटै हलमा प्रदर्शन गरिनेछ। मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलाप्रथाबाट गरिएको हो।
कार्यक्रममा चारपांग्रे, दुईपांग्रे र व्यवसायका गरी करिब ५० ब्रान्डको सहभागिता रहनेछ। कुल ४८ स्टलमध्ये २१ वटा चारपांग्रे सवारी ब्रान्डलाई, १८ वटा दुईपांग्रे ब्रान्डलाई र ९ वटा स्टल व्यावसायिक सवरीसाधनले पाएका छन्।
नाइमाका संस्थापक अध्यक्ष रितु सिंह वैद्यले मोबिलिटी एक्स्पोले नेपालको अटोमोबाइल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको बताइन्।



