२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर


सञ्चार डबली
  • सोमबार, जेठ २६ २०८२
  • 5.9K
    SHARES

  • images
    वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर

    नवलपरासी, जेठ २६ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछा पालन गरी वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गरिरहेका छन्। भारतको आन्ध्र प्रदेशबाट माछा पालनसम्बन्धी तालिममा हासिल गरेको अनुभवको प्रयोग गर्दै उनले माछा पालन गरेर गाउँमै उदाहरण पेस गरेका छन् । 

    सोह्र बिघा जग्गामा २० वटा पोखरी बनाएर व्यावसायिक माछा पालन गरिरहेको ४८ वर्षीय यादवले बैखी कार्प माछा पालन गरिरहेका छन् । पोखरीमा रहेका माछालाई चरालगायत कुनै पनि चिजले खान नपाउन् भनेर जाल जाली लगाइएको छ । 

    उनले वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य बोकेर एकवा रिसर्च प्रालि र अरुण एकीकृत कृषि फर्म दर्ता गरेर आफूले व्यावसायिक माछा पालन गरेको र यसबाट वार्षिक रु एक करोडभन्दा बढी कारोबार गरी राम्रो आम्दानी गरिरहेको बताए । 

    पछिल्लो समय भारतबाट अवैध रूपमा माछा ल्याएर भारतीय व्यापारीले सीमा क्षेत्रमा प्रतिकिलो रु १५० का दरले बिक्री गर्न थालेपछि भने समस्या भएको उनको भनाइ छ । यस वर्ष माछा उत्पादनसँगै बजारीकरणमा कुनै समस्या नभए लक्ष्यअनुसार नै कारोबार हुने यादवको अपेक्षा छ । 

    माछा पालन व्यवसाय सुरु गर्नुअघि उनले भैँसी पालन व्यवसाय गरेका थिए । उनीसँग ४० वटा भैँसी रहेका थिए । 

    आफू किसानको छोरा भएकाले वैदेशिक रोजगारमा गएर मेहनत गर्नुभन्दा आफ्नै देशमा कृषि कर्म गरेर खानु राम्रो हुने भनेर यसैमा रमाइरहेको बताउने यादव पछिल्लो समय भने माछा पालनमा जुटेको बताउँछन्।

    प्रतापपुर गाउँपालिका–१ का वडाध्यक्ष महेन्द्रबहादुर थारु चौधरीले  स्वदेशमै व्यावसायिक काम गर्नु सराहनीय भएको बताए । पालिकाले पनि स्वरोजगार मूलक कार्यक्रम सञ्चालनका लागि पहल गरे पनि धेरैले चासो नदिने गरेको उनले सुनाए । 

    भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण चौधरीले जिल्लामा नौ कट्ठाभन्दा बढी जग्गामा १ सय ४४ जनाले व्यावसायिक रूपमा माछा पालन गरिरहेका बताए । माछा पालनमा राम्रो सम्भावना भएकाले यसतर्फ व्यावसायिक किसानहरूको आकर्षण बढिरहेको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend